काठमाडौँ — २०६० सालको एसएलसीमा सामुदायिक विद्यालयबाट गोरखा जिल्ला प्रथम भएका साधुराम बस्नेत, ३१ को ठूलो सपना थियो डाक्टर बन्ने । डाक्टर बन्ने सपनाले उनलाई काठमाडौंसम्म ल्याइपुर्‍यायो । पद्मोदय उच्च माविमा आईएस्सी गरेपछि उनले डाक्टरी पढ्न कहाँ पुगेनन् । ‘एकखालको भूत नै सवार भएको थियो,’ १४ वर्षअघि फर्कंदै साधुराम भन्छन्, ‘अन्तिमसम्म बल गरें । सकिनँ ।’

कुरो अड्कियो पैसामा । फुल स्करसिप पाएनन् । फिलिपिन्सको एउटा मेडिकल कलेज ८ लाख रुपैयाँसम्ममा पढाउन तयार भयो । त्यो पैसा पनि निकाल्न सकेनन् । गोरखाका किसान परिवारका सात दाजुभाइमध्ये कान्छा साधुरामलाई ८ लाख ८ अर्बजत्तिकै भयो ।


डाक्टरको सपना पैसामा अड्किएपछि इन्जिनियर बन्ने धोको पाले । उतिबेला नाम निकाल्नै कठिन एपेक्स कलेजमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा नाम निस्कियो । ‘दुई सेमेस्टरसम्म पढें,’ इन्जिनियरिङका ड्रपआउट उनी भन्छन्, ‘कलेजमा पैसा बुझाउन सकिएन । छाडिदिएँ ।’


डाक्टर र इन्जिनियरको सपना पैसाकै कारण हत्या भएपछि साधुरामले पढ्ने होइन, कमाउने बाटो खोज्न थाले । चिनेजानेकाले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को ‘फिल्ड ट्रेनर’ को जागिर लगाइदिए । ‘फिल्ड ट्रेनर’ को नियुक्तिपत्र बोकेर सुदूरपश्चिमको दार्चुला पुगेका साधुरामले एकैपटक दुइटा काम भ्याए । बानेश्वर क्याम्पसबाट बीबीएस र भारतको देहरादून खुला विश्वविद्यालयबाट बीए अनर्स पनि पूरा गरे ।


प्रोजेक्टको सिलसिलामा तीन वर्षसम्म दार्चुलासहितका सुदूरपश्चिमका जिल्लाका कृषकसँग बिताएका साधुराम काठमाडौं फर्किएपछि किसानसँगको उठबसको तलतल लागिरह्यो । ‘त्यहींबाट सिक्ने मौका पाएँ । सानो–सानो कुरा सिक्ने मौका मिल्यो । खुसी कृषकहरू देखें,’ उत्साही कृषकहरूलाई नै जीवनको टर्निङ पोइन्ट मानेका उनी भन्छन्, ‘कुन बेला आफैं व्यावसायिक फार्म सुरु गरौं भन्ने भएको थियो ।’


काठमाडौं फर्केपछि किंग्स कलेजमा ईएमबीए भर्ना भएका उनी काठमाडौं आसपासका गाउँ पुग्दा टनेल फार्म गरेको देखे । इजरायलबाट ट्रेनी कृषकको कोर्स पूरा गरेर फर्किएका युवाले तरकारी राम्रो उत्पादन गरेको देखेपछि उनलाई पुन: रहर जागेर आयो । रात्रि कलेजमा भर्ना भएका साधुराम बिहान ट्युसन पढाउँथे । एफएओमा काम गर्दा बचेको करिब ८० हजार रुपैयाँमा ट्युसन पढाएर जम्मा भएको १ लाख थपिएको रहेछ । ‘आफैंसँग भएको पैसाले जति हुन्छ, त्यतिमै फार्म सुरु गर्छु भन्ने आयो,’ व्यावसायिक कृषि कर्मको इतिहास खोतल्दै उनले भने, ‘धेरैतिर खोज्दा काभ्रेस्थलीमा भेटिएको दुई रोपनी जग्गामा गोलभेंडा खेती गर्ने निधो गरें ।’


साधुरामको जीवनको पहिलो प्रोजेक्टमा कोही सहयोगी थिएनन् । उनले सबै काम एक्लै गरे । बाँस काट्ने, छाप्रो बनाउनेदेखि अस्थायी ट्वाइलेटसम्म आफैं बनाए । हातमा ठूल्ठूला ठेला उठे । खुट्टामा चोटैचोट । त्यस वर्षको दसैंमा घर जाँदा आमाले हात काटेको, खुट्टामा चोट लागेको देखेपछि चित्त दुखाइन् । ‘मैले त पढ्न भनेर काठमाडौं पठाएँ । खेती नै गर्ने भए यहीँ गरे भैगो नि,’ आमाले भनेकी थिइन्, ‘अब त्यो बाटो नलाग ।’


आमाले नजानु भनेको बाटोमा साधुराम झन् तीव्र गतिमा लम्किए । दुई रोपनीमा गोलभेंडा रोपेका उनको लगानी उठाउन वर्ष दिन कुर्नुपरेन । झन् जोस जाँगर थपियो । उनले त्यहीँ फेरि १० रोपनी जग्गा लिजमा लिए । त्यहाँ पनि गोलभेंडाकै फार्म सुरु गरे । काञ्जीरोवा कृषि फार्मको नामलाई ब्रान्डिङ गर्दै लगे ।


काभ्रेस्थलीको कृषि फार्मले एक–दुई वर्षमै राम्रो आम्दानी गरे । लगानी उठाउनु ठूलो कुरा भएन, सहयोगीहरूलाई तलब र आम्दानी थपिँदै गयो । अर्गानिक उत्पादन गरिएका गोलभेंडा सीधै पोखरासम्म पुग्थे । फर्केर पैसा आउँथ्यो । उनले फार्मिङबारे कतै पढेनन्, बरु म्यानेजमेन्टको आफ्नो पढाइलाई प्रयोग गरे । ‘कसरी उत्पादन गर्ने त मैले सिकेकै थिएँ,’ उनी भन्दै थिए, ‘राम्रो म्यानेजमेन्ट भयो भने सफल भइन्छ भन्ने विश्वास थियो । त्यही गरें ।’


एकपछि अर्को फार्मिङ प्रोजेक्ट थपिए । भक्तपुरको नगरकोट र गुन्डु तथा काभ्रेको नालामा एकपछि अर्को गरी फार्महरू थपिए । त्यहाँसम्म पुग्दा भने अरू युवा उद्यमीहरूसँग सहकार्य गरे । काभ्रेस्थलीभन्दा ठूल्ठूला प्रोजेक्ट थिए ती । तर केही समयमै विस्तारै उनले ती सबै प्रोजेक्टलाई काञ्जीरोवाभित्रै ल्याए । प्रोजेक्टहरू एकलौटी भयो । अहिलेसम्म ९६ रोपनी जग्गामा फार्मिङ छ ।


अर्गानिक खेतीको विषयमा सिक्न र सिकाउन नेपालका अधिकांश भूभाग पुगेका छन् । भारतका धेरै राज्यमा टेकेका छन् । सिक्न र सिकाउन युरोपसम्म पुगेका छन् ।


सुरुका दिनमा आफैं १८ घण्टासम्म फार्ममा काम गरेका साधुरामसँग अहिले २ दर्जनले प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरू सबै मासिक तलब खान्छन् । सबै खर्च गरेर उनका लागि बचत ३–४ लाख रुपैयाँ छँदैछ ।


भारत पुगेपछि उनले एउटा कुरा थाहा पाए । तरकारी खेतीमा देखिने समस्या पछि होइन, बेर्ना उत्पादन गर्दै हुने रहेछ । नेपालमा आएपछि कुरा कृषि मन्त्रालयअन्तर्गतको तरकारी विकास निर्देशनालयमा पुर्‍याए । निर्देशनालयले कामको जिम्मा दियो । उनले काभ्रेस्थलीमै ६ रोपनी जग्गा लिजमा लिएर हाइटेक बेर्ना उत्पादन सुरु गरेका छन् । एक वर्षअघिदेखि सुरु भएको हाइटेक बेर्ना उत्पादनले अहिले राम्रो गति लिएको छ । ‘अफसोइल क्लोज फार्मिङ’ प्रणालीबाट ५० लाख रुपैयाँको लगानीमा सुरु भएको नर्सरीको बेर्ना अहिले ताप्लेजुङदेखि धनगढीसम्म पुगेको छ । ‘सेन्सरले अटोमेटिक कन्ट्रोल हुन्छ । सबै काम सिस्टमले गर्छ,’ लोभलाग्दो नर्सरीमा भेटिएका साधुराम भन्छन्, ‘यहाँबाट उत्पादन भएका बेर्नामा रोग लाग्ने सम्भावना १ प्रतिशतभन्दा कम हुन्छ ।’ कम्तीमा १० दिनमा उम्रने बीउ यहाँ २४ घण्टामा उम्रन्छ भने तीन दिनभित्र सार्न सकिन्छ ।


आत्मनिर्भर अर्थतन्त्रका लागि पहिलो सुरुवात कृषि क्षेत्रबाटै गर्न सकिने साधुराम बताउँछन् । ‘म एउटा उदाहरण दिन्छु । ४ रुपैयाँ लगानी भएको काउलीले ६० रुपैयाँसम्म प्रतिफल दिन्छ । फेरि समय पनि दुई महिना मात्रै,’ उनले सहजै बुझाइदिए, ‘कति सय प्रतिशतसम्म बढी हो, अनुमान लगाउन सकिन्छ । यो कुनै रकेट साइन्स पनि होइन ।’
सामूहिक, सामुदायिक र एकीकृत खेती प्रणाली अपनाउन साधुरामको सुझाव छ । तर, बिचौलियामार्फत मूल्य निर्धारण गर्ने र बजारसम्म पुर्‍याउने प्रणालीमा सुधार ल्याउन जरुरी रहेको बताउँछन् ।


कृषिमा अनुदान भनिए पनि सरकारी प्रक्रियाहरू झन्झटिला छन् । ‘तर, कागज बुझाएर सरकारी अनुदान लिने झोले किसानहरूको बिगबिगी छ,’ उनको अनुभव छ, ‘युवा प्रोत्साहित गर्ने संयन्त्र विकास गर्न जरुरी छ ।’

openshekhar@gmail.com