कृषि तथा पशुपन्छी विकास मन्त्री पद्यमा अर्याल आएको दुई महिना नवित्दै उनको गृह जिल्ला स्याङ्जाले ८ करोड रुपौयाँ पाउने भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याङ्जाले थप कार्यक्रमकालागि भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय समक्ष पत्र पठाएर रकम माग गरेको देखिन्छ । तर यति धेरै रकम कृषिमन्त्री अर्यालको सचिवालय आफैले फाइल अगाडि बढाइरहेको छ । यो ८ करोड २५ हजार विभिन्न शिर्षकमा पठाइन लागेको छ । 

 

सामान्यतया, ४ करोडभन्दा धेरै रकम जिल्लामा पठाइन पाइदैन् । यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत अन्यत्र शिर्षकमा करमान्तरण गरिएको थियो । 

स्याङ्जास्थित परियोजना कार्यान्वयन इकाइको चलानी नं. १३३ मार्फत गरिएको अनुरोध पत्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना तथा बजेट महाशाखामा पुगेको छ । स्रोतकाअनुसार रकम चाडैँ निकासा हुदैछ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख बैकुण्ठ अधिकारीले यस विषयमा छलफल भएको त थियो तर अहिले फाइल कहाँ पुगेको छ भन्ने थाहा आफुलाई नभएको बताए । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले यो फाइल योजना महाशाखाले हेर्ने जानकारी दिए ।