हेटौंडा – कुनैबेला कु–अन्नको संज्ञा दिएर बेवास्था गरिएका कारण किसानको रोजाइमा नपरेको बालीलाई गाउँपालिकाले अनुदान दिन थालेको छ । ग्रामीण क्षेत्रका किसानले खेती गर्न छाडेपछि गाउँपालिकाले अनुदानको ब्यवस्था गरेको हो । कोदो र फापरको उत्पादन न्यून हुन थालेपछि गाउँपालिकाले मूल्य निर्धारण गरेर किसानलाई सहुलियत दिने निर्णय गरेको हो ।

मकवानपुरगढी गाउँपालिकाले कोदो र फापरको मूल्य निर्धारण गरेको छ । गाउँपालिकाको अनाज मूल्य निर्धाण समितिको बैठकले कोदो र फापरको मूल्य निर्धारण गरेको हो । बैठकले कृषकबाट उत्पादित कोदोको प्रतिकेजी ४२ रुपैयाँ, मिठे फापरको प्रतिकेजी ६० रुपैयाँ र तिते फापर प्रतिकेजी ७० रुपैयाँ न्युनतम् मूल्य तोकिएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०७७÷७८ को बार्षिक स्वीकृत कार्यक्रमअनुसार कृषि विकास कार्यक्रमतर्फ अनाज खरिद बिक्री अनुदान कार्यक्रम सहकारीमार्फत् कार्यान्वयनमा ल्याईएको गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए । पछिल्लो समय मकवानपुरका किसानले कोदोखेती गर्न छोडेपछि यो अन्न लोप हुँदै गएको अध्यक्ष हुमागाईंले बताए । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ ।

कोदो फल्ने भेगमै किसानले खेती गर्न छोडेपछि अहिले बीउसम्म पाउन मुस्किल भएको छ । कोदो बालीप्रति किसानको आकर्षण घटेकाले अनुदानको ब्यवस्था गरिएको अध्यक्ष हुमागाईंले बताए । कोदोखेती गर्दा धेरै मलजल र गोडमेल गर्नु पर्दैन । गाँउघरमा कोदोको महत्व नबुझदा यो अन्नलाई गरिबले खाने भन्दै घृणाको रुपमा हेरिने गरिएको छ ।

गाउँपालिकाले निर्धारण गरेको मूल्यमा अनाज खरिद बिक्रीका लागि सूचीकृत सहकारीले कृषकहरुबाट उत्पादित कोदो र फापर खरिद गर्नेछन् । कृषकले सहकारीमार्फत् बिक्री गरेवापत गाउँपालिकाले प्रोत्साहनस्वरुप प्रतिकेजी २ रुपैयाँ र सहकारीलाई खरिद गरी भण्डारण र व्यवस्थापन गरेवापत प्रतिकेजी २ रुपैयाँका दरले अनुदान उपलब्ध गराईएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

कुनै समयमा यस जिल्लाको अधिकांश स्थानमा प्रशस्त मात्रामा पाइने रैथाने जातको कोदो पछिल्लो समय लोप हुन थालेपछि सचेत कृषक पनि चिन्तित हुन थालेका छन् । सहरीकरण, बढ्दो आधुनिकीकरण तथा खानपानमा परिवर्तन आउँदा जिल्लामा रैथाने जातको कोदो लोप भएको हो । कोदोमा प्रसस्त मात्रामा पौष्टिक तत्व आइरन अत्यधिक मात्रामा पाइने भए पनि यसको महत्व नबुझ्दा कोदो लोप हुन थालेको हो ।

मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष ध्रुब खड्काले आफ्नो वडामा रहेका सबै विद्यालयमा हरेक साता एकपटक विद्यार्थीलाई कोदोको रोटी बनाएर खाजा खुवाउन आग्रह गरेका छन् । गाउँपालिकाले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई पालिकाले दिवाखाजाको रुपमा पुस १६ गतेदेखि विद्यालयमा दिवाखाजा उपलब्ध गराउने निर्णय गरेको थियो ।

विद्यालयमा दिवाखाजाको रुपमा खाजाको ब्यवस्था गर्दा पत्रुखाना निषेध गरिएको वडाअध्यक्ष खड्काले बताए । स्थानीय उत्पादनलाई नै प्रोत्साहन गर्न र बालबालिकालाई पोष्टिक तत्व पु¥याउनका लागि पनि हप्तामा एकपटक कोदोको परिकार खुवाउने ब्यवस्था गर्न आग्रह गरिएको अध्यक्ष खड्काले जानकारी दिएका छन् ।

कुनै समय मकवानपुरका अधिकांश किसानको खेतबारीमा कोदो खेती हुन्थ्यो तर, पछिल्लो समयमा यसको महत्व नबुझ्दा कोदो लोप हुंदै गइरहेको छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने कोदोको पीठो हेटौंडाको दिब्यतारा बहुउद्देशीय सहकारी संस्थाले प्रतिकेजी ८० रुपैयाँमा बिक्री गरिरहेको छ । चामल वा मकै भन्दा महँगो मूल्यमा कोदो बिक्री हुने गरेपनि कोदोखेतीमा किसानको चासो भने घट्दै गएको पाईन्छ ।