बागलुङ, ८ पुस । “बन्दाबन्दीले नयाँ सोच दियो, नत्र काठमाडौँतिरै रुमलिएर बसिन्थ्यो”, २८ वर्षीय राम खत्रीले भन्नुभयो, “कोरोनापछिको समयलाई गाउँमा सदुपयोग गरेँ, उत्पादनमा जोडिने योजना बनाएँ ।” कोरोनाअघि खत्रीको अधिक बसाइँ काठमाडौँमा हुन्थ्यो ।

व्यवसायका नाममा खत्रीको एउटा स्करपियो जीप थियो । जीपको कमाइले किस्ता तिर्न र खर्च धान्न ठिक्क हुन्थ्यो । जेनतेन यातायात व्यवसायमा टिक्नुभएका खत्रीमाथि कोरोना महामारीले बज्र थप्यो । मुलुकभर बन्दाबन्दी भयो । जनजीवन ठप्प भयो । स्करपियो थन्कियो, खत्री भने काठमाडौँ छाडेर घर फर्कनुभयो । बन्दाबन्दीका फुर्सदिला दिन यसै खेरफाल्न उहाँको मनले मानेन । बिना इलम गाउँमा बस्दा छिमेकीले कुरा काट्ने उस्तै डर । घरमै बस्दाबस्दा खत्रीको मनमा भिन्नै सोच फु¥यो । अब काठमाडौँ नफर्कने, गाउँमै केही गर्ने ।

ad
गलकोट नगरपालिका–७ मल्मका खत्रीको राम्चेढुङ्गामा बाँझो पल्टिँएको आफ्नै जग्गामा ध्यान गयो । उहाँले वर्षौँदेखि निर्जन बनेको ठाउँलाई व्यावसायिक थलोका रुपमा परिणत गर्ने अठोट लिनुभयो । कोरानाले निम्त्याएको विषम स्थितिमा खत्रीले गाउँमै उद्यमी बन्ने सपना देख्नुभयो । उहाँ चुपचाप त्यही लक्ष्यतिर डोरिनुभयो । कोरोनाको जोखिमबाट बच्न घर आउनुभएका खत्रीको परिचय अहिले ‘राम्चेढुङ्गा पशुपक्षी उत्पादन तथा बिक्री केन्द्र’को सञ्चालकका रुपमा फेरिएको छ । “भैँसीका पाडापाडी र कुखुरापालन शुरु भइसकेको छ, पछि बाख्रा पनि राख्ने सोचमा छु”, उहाँले भन्नुभयो ।

फार्मका लागि संरचना बनाउन मात्र रु पाँच लाख खर्च भइसकेको छ । यस्तै पाडापाडी र कुखुराका चल्ला खरिदमा झण्डै रु १५ लाखको लगानी हुने खत्रीले बताउनुभयो । ५० देखि सयसम्म पाडापाडी र एक हजार स्थानीय जातका कुखुरापालन गर्न सकिने गरी संरचना तयार पारिएको छ । “दश वटा मुर्रा जातका पाडापाडी चितवनबाट ल्याइसकेँ, थप २७ वटा आउँदैछन्, स्थानीय भैँसीका पाडापाडी पनि राख्दैछु”, उहाँले थप्नुभयो । पाडापाडी हुर्काएर भैँसीपालक किसानलाई बेच्ने लक्ष्यका साथ फार्म खोलेको उहाँको भनाइ छ । गाउँमा भैँसी ब्याउदा पाडापाडी नपाल्ने प्रवृत्ति छ । फार्म खुलेपछि खेर फालिने पाडापाडी पनि हुर्काएर व्यावसायिक रुपमा बेचबिखन हुने वातावरण बन्ने छ । “आफ्नै ठाउँमा आत्मनिर्भर हुन सकिन्छ”, उहाँले भन्नुभयो, “अरुलाई पनि रोजगारी दिने उद्देश्यले फार्ममा लगानी गरेँ ।”

फार्ममा दुई जना बाहिरी व्यक्तिले काम पाएका छन् । खत्रीलाई व्यवसायमा घरपरिवारको पनि उत्तिकै साथ छ । कोरोना नहुँदो र बन्दाबन्दीमा घर फर्कन नपरेका भए आफूमा यस्तो उद्यमशीलताको सोच सायदै आउने खत्रीले बताउनुभयो । लोकगीत सिर्जनामा पनि दख्खल राख्ने खत्रीका ‘यानीमाया’, ‘सागर तरेर’, ‘मैना चरी’लाईलगायत गीत चर्चित छन् । अविवाहित खत्रीले तत्काललाई अरुथोक नसोचेर व्यवसाय प्रवद्र्धनमा आफू केन्द्रित रहेको बताउनुभयो ।
खत्रीकै घरदेखि केही तल अर्को एउटा कृषि फार्म निर्माणाधीन छ । २३ वर्ष थाइल्याण्डमा विताएर नेपाल फर्कनुभएका बाबुराम थापा केही वर्षयता काठमाडौँमा व्यवसाय गर्दै आउनुभएको थियो । उहाँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रेष्टुराँ थियो । थापाले साथीहरूसँग मिलेर खोलेको रेष्टुराँ कोरानाका कारण अचानक बन्द गर्नुप¥यो । एकातिर व्यवसाय बन्द अर्कातिर कोरोनाको त्रास । ५० वर्षीय थापा बन्दाबन्दीबीच जन्मघर फर्कनुभयो । “जुन देशमा गए पनि सपना गाउँकै देखिने रहेछ, म धेरै देश घुमेँ, जहाँ गए पनि प्यारो आफ्नै गाउँघर लाग्ने रहेछ”, थापाले भन्नुभयो । उहाँको परिवारका सबै सदस्य विदेशिएपछि गाउँको घरजग्गा पनि अर्कैले रेखदेख गर्थे, खेतीपाती लगाउँथे ।
आँगाको फाँटमा रहेको थापाको घरलाई कुनैताका ‘खेतको घर’समेत भनेर चिनिन्थ्यो । मर्मत अभावमा पछिल्लो समय घर जीर्ण थियो । उहाँ फर्केपछि घरगोठ हटाएर त्यसलाई फार्मका रुपमा विकास गर्ने योजना बनाउनुभयो । थापाको आफ्नै चार र भाडामा लिएको तीन गरी सात रोपनी जग्गामा अहिले फार्मको संरचना बनिरहेको छ । “स्थानीय जातको कुखुरापालन र तरकारीखेती मुख्य रुपमा रहने छ”, थापाले भन्नुभयो, “व्यवस्थित र आधुनिक खालको संरचना बन्छ, लगानी पनि ३० देखि ३५ लाखसम्म हुने मेरो अनुमान छ ।” पछि गएर पाडापाडी पाल्ने सोच उहाँको पनि छ । ‘थापा कृषि तथा पशुपक्षी फार्म’ दर्तासमेत भइसकेको छ ।

कुखुरापालनका लागि बनाइएको संरचनामा छानो राख्ने काम मात्र बाँकी छ । एक हजारदेखि १२ सयसम्म स्थानीय जातको कुखुरापालन गर्ने थापाको तयारी छ । “देशविदेशको अनुभव गरेको छु, अहिले आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने सोचले घर फर्किएँ, यतै रमाइलो छ, अब कतै जान्न”, उहाँले भन्नुभयो । छिमेकी र शुभेच्छुकलेसमेत छिपिँदै गरेको उमेरमा थापाले देखाएको आँट र उत्साहको प्रशंसा गर्छन् । थापाले गाउँ फर्केर केही न केही गर्ने पहिले देखिकै सोच कोरानाकालमा आएर साकार बनेको उल्लेख गर्नुभयो ।

कोरोना सङ्कटका बेला गाउँमै भविष्य खोज्नेमा खत्री र थापा मात्र हुनुहुन्न । शहरमा व्यवसाय र रोजगारी गुमेपछि घर फर्केर केही न केही व्यवसाय अँगाल्नेको सङ्ख्या बढ्दो छ । जैमिनी नगरपालिका–७ जैदी, बोरका कमल राना गत चैतअघिसम्म पोखरामा बस्नुहुन्थ्यो । त्यहाँ रहँदा उहाँ प्रदेशसभा सदस्य पियारी थापाको स्वकीय सचिवका रुपमा काम गर्नुहुन्थ्यो । एकाएक कोरोनाको सन्त्रास छायो । बन्दाबन्दी भयो । स्थिति असामान्य बनेपछि रानाले पनि पोखरा छाड्ने निर्णय लिनुभयो । उहाँ घर फर्कनुभयो । बन्दाबन्दीले दिन व्यर्थैमा बितेकामा उहाँलाई पछुतो हुन्थ्यो । घरमै बस्दाबस्दा रानाले पनि गाउँमै स्वरोजगार बन्ने उपायको खोजी गर्न थाल्नुभयो । ताकी फेरि कामकै लागि शहरतिर भौँतारिन नपरोस् ।

२५ वर्षीय रानाको लक्ष्यले पनि छिट्टै साकार रुप लियो । ‘जैदी माछापालन, कृषि तथा पशु फार्म’बाट उहाँको चिनारी अब उद्यमीका रुपमा बदलिँदै छ । “बन्दाबन्दीकैबीच स्वकीय सचिवको जिम्मेवारी छाडेँ र व्यवसायतिर लागेँ”, उहाँले भन्नुभयो । रानाले नगरपालिका र कर कार्यालयमासमेत फार्म दर्ता गरी सञ्चालनमा ल्याउनुभएको हो । फार्मका लागि वार्षिक रु ६० हजार भाडामा साढे पाँच रोपनी जग्गा लिई माछा र बङ्गुरपालन थालेको उहाँको भनाइ छ । दुई वटा पोखरीमा गत असारमा राखेका चार हजार ७०० माछाका भुरा अहिले हुर्किरहेका छन् । पोखरीमा कमन ग्राफ, नैनी र सिल्भर जातका माछा छन् ।

यस्तै ५० वटा बङ्गुर पाल्नका लागि संरचना तयार भइसकेको रानाले बताउनुभयो । उहाँसँग व्यावसायिक तरकारी खेतीको योजना पनि छ । फार्ममा हालसम्म रु सात लाख लगानी भएको छ । आधा आफ्नै र बाँकी ऋण खोजेर लगानी गरेको रानाले बताउनुभयो । बन्दाबन्दीमा घर फर्कनुभएका खत्री, थापा र रानाझैँ यहाँ अन्य युवा पनि स्वरोजगार बन्नतर्फ लालयित छन् । बसाइँसराइले रित्तिदै गएका गाउँमा भविष्य देख्दैछन् । रासस