धेरै शिक्षा हासिल गरेर डाक्टर, पाइलट अथवा कुनै सरकारी कार्यलयमा कुनै ठूलो पदमा रोजगार हुनु मात्र सफलता हुँदैन। यदि सबैले यहि सोच राखेर सबैजना डाक्टर र पाइलट बन्न तर्फ मात्र अग्रसर भए भने अरू क्षेत्रमा कसले काम गर्ने ? मान्छेको लागि सबभन्दा महत्वपूर्ण भनेको गाँस, बास र कपास हो जुन बिना हाम्रो जिवन असम्भव छ, यी कुराहरू कसले व्यवस्था गर्दिने। यहि सोचका साथ सिन्धुली घर भई हाल भक्तपूर, पेप्सीकोलामा आफ्नो परिवार सँग बसोबास गर्दै आइरहेका शिशिर दाहालले कृषि विज्ञान विषय पढ्ने निर्णय गरेका थिए। उनी भन्छन्, “मेरो आफ्नो सोच चाँही वातावरण मैत्री कसरी हुने भन्ने थियो। कृषि भनेको एउटा प्राविधिक विषय हो। हामी सामान्य शिक्षा अन्तर्गत प्लस टू पढ्छौं । प्लस टूमा विज्ञान नै पढे पनि अथवा व्यवस्थापन नै पढे पनि शिक्षक नै हुने र यसबाट आफ्नो क्षमता विकास नहुने, सिप विकासको लागि लामो समय कुर्नुपर्ने। तर प्राविधिक विषयहरू जस्तै कृषि विज्ञान अथवा अरू नै कुनै प्राविधिक विषय पढ्यो भने हामी आफै सिपमूलक हुने रहेछौ भन्ने सोच आयो अरूले भनेको सुन्दा पनि यो क्षेत्र राम्रो लाग्यो। हामी जस्तो युवाहरू सामान्य शिक्षा पढ्यो अनि व्यवस्थापन पढ्नेहरू सबै बैंकर अनि विज्ञान पढ्ने सबै वैज्ञानिक, त्यस्तो भएपछि अन्नबाली उत्पादन कसले गर्ने त। हामीलाई खानेकुरा त चाहियो, त्यो हुनाले विरूवाहरूसँग वातावरण तिर रुची बढेर मैले कृषि विज्ञान नै रोजेको हो।”

उनले व्यावसायिक शिक्षाको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत रामेछापमा अवस्थित रामेछाप पोलिटेक्निक इन्ष्टिच्यूटबाट कृषि विज्ञान विषयको ३ वर्षे डिप्लोमाको कोर्स गरेका छन्। हाल उनी पढाइकै सिलसिलामा अन द जब ट्रेनिङ अन्तर्गत भक्तपुर, गाम्चामा कार्यरत छन्। उनले सामान्य धारको शिक्षा अन्तर्गत एसईई सकिए लगतै व्यावसायिक शिक्षा तर्फ लागेका थिए। परिवारमा बुबा, आमा, दुई दिदी र एकजना दाई हुनुहुन्छ। बुबा सरकारी कर्मचारी हुनुहुन्छ, दाई अष्ट्रेलियामा हुनुहुन्छ र दिदीहरूको बिवाह भैसक्यो। उनलाई यो क्षेत्रमा पहिले देखि नै रूचि थियो। घरबाट विज्ञान विषय लिएर पढ न त किन त्यति टाढा गएर पढ्नु पनि भन्नु भएको थियो तर उनले हैन म यहि विषय पढ्छु भनेपछि बुबाआमाले हुन्छ पढ न त भनेर अहिले उनलाई पूर्ण रूपमा साथ र सहयोग प्रदान छ।


उनलाई एसईई पढ्दा सम्म सामाजिक कार्यकर्ता बन्छु जस्तो लाग्थ्यो अनि पछि यसो सोच्दा कृषि क्षेत्र एकदम राम्रो लागेको बताउछन्। उनको पढाइ पहिले देखि नै राम्रो थियो र कलेजमा पनि राम्रै भयो। ३ वर्षको डिप्लोमाको कोर्स गर्ने क्रममा उनले पहिलो वर्ष र दोस्रो वर्ष highest marks ल्याउन सफल भएका थिए जसकारण उनले २ वर्ष छात्रवृत्तिमा पढ्न पाउने अवसर हासिल गरेका थिए। उनले रामेछापमा पढ्नको लागि कोठा भाँडामा लिएर बसेका थिए, खानबस्न खर्च घरबाट दिनुहुन्थ्यो। अहिले उनी ओजेटी गर्दैछन्। तेस्रो वर्षको परिक्षा बाँकी छ। उनी सँगैका साथीहरू मध्ये एक जना अहिले उनी सँगै ओजेटी गर्दै छन् अनि अरू ओजेटी कै सिलसिलामा छुट्टाछुट्टै ठाँउमा छन्। अहिले लकडाउनले गर्दाखेरी विभिन्न क्षेत्रमा आफूले छनोट गरेको platformमा ओजेटी पठाउन नसकेको त्यसकारण सबैले आफ्नो घरकै क्षेत्र तिर ओजेटी गर्दैगरेको उनी बताउछन्।

उनी व्यावसायिक शिक्षा पढेकोमा एकदम आत्मसन्तुष्ट र खुसी छन। उनी भन्छन्, “अरूले सोध्नुहुन्छ यो विषयको बारेमा म राम्रो छ भन्छु पढ्नु भन्छु सबैलाई। आफूले राम्रो performance दिने हो सबै आफूमा भर पर्छ। मसँगै पढेको कोही साथीहरूको अंक थोरै आउछ भने कोही अर्कै क्षेत्रमा हुनुहुन्छ, त्यो त आफू performance कस्तो दिने भन्ने कुरा हो। तर यदि इच्छुक हुनुहुन्छ भने एकदम राम्रो क्षेत्र छ। अझ नेपालमा अहिले त एकदमै बढि सम्भावना छ मैले देखे अनुसार। तर केही नखोज्ने, बाहिरको बारेमा केही जान्नै नखोज्ने भयो भने एक ठाँउमा मात्र सिमित भइन्छ। अहिलेको अधिकतम कृषकहरू व्यावसाय त गर्ने तर प्राविधिक कुरामा अलि अभाव जस्तो लाग्छ। त्यसको लागि हरेक घरमा डाक्टर र पाइलट भन्दा पनि हरेक घरमा एउटा जुनियर प्राविधिक, एउटा किसान हुने हो भने जस्तो तराइ तिर अथवा काठमाडौँमै पनि जमिन घट्दै छ। अब बाँकी जमिनलाई अझ उब्जाउ बनाउनलाई हरेक घरमा जुनियर प्राविधिक हुन्छ भने त अरू देशसँग अन्नहरूको लागि हामीले लाखौँ करोडौ खर्च गर्नुपर्छ जस्तो मलाई लाग्दैन।”

अब भविष्यको लागि ओजेटी सकेपछि जुन खाली समय हुन्छ त्यति बेला जागिर नै गर्ने अनि पछि परिक्षाको परिणाम निस्केपछि फेरी पढाइलाई निरन्तर्ता दिँदै स्नातक तहको अध्ययन गर्ने सोचमा छन्। यदि व्यावसायिक शिक्षा नपढेको भए सामान्य शिक्षालाई नै निरन्तर्ता दिँदै १५ हजार जति कमाई हुने जागिर गर्थे होला भन्ने उनको भनाई छ।