खेती कर्मबाट खान नपुगेपछि धेरै किसान पलायन भएर शहरदेखि वैदेशिक रोजगारीसम्म पुगेका छन्। अहिले तिनै युवालाई फर्काएर बाँझो जमीन फोर्न लगाउने बहस आकर्षक सुनिए पनि हाम्रो सबै संरचना र खेती प्रविधि यथावत् नै राखेसम्म कृषिमा सुधारको कुरा कोरा गफ मात्रै हो।


डा. कृष्ण पौडेल
कोरोनाभाइरस महामारी र यसको रोकथामका लागि लगाइएको बन्दाबन्दीपछि मुलुकमा कृषि प्रणाली सुधार गर्नुपर्ने विषयमा मानिसले कुरा गरिरहेका छन्। तर, कृषिमा किन प्राथमिकता दिने भनेर शुरूमै प्रष्टता चाहिन्छ। नेपालको कृषिलाई किन रुपान्तरण गर्ने, कृषिमा अहिलेको अवस्थाले के घाटा पर्‍यो भन्ने विचार गरेपछि मात्रै भविष्यको बाटो पहिल्याउन सजिलो हुन्छ।

पहिलो, बन्दाबन्दीबाट सबैभन्दा ठूलो जोखिम मानिसको खाद्य सुरक्षामा देखिएको छ। राष्ट्रिय संकट कुनै कारणले हुन्छ भने कोरानाभाइरसभन्दा पनि खाद्य संकटले निम्त्याउनेछ। त्यसैले कृषि प्रणालीको सुधार चाहिएको हो। दोस्रो, एकदम सुदूर गाउँका कैयौं सामान्य किसान परिवारसँग अहिले एउटा बाख्रो पाल्न, तरकारी लगाउने स्रोत छैन। भए पनि, खेतीपातीमा आश्रित भएर उसको जिन्दगी चलेको छैन। साना किसान लक्षित सरकारी अनुदान र सहयोग बिचौलियाले हत्याएको छ। खेती गरेर किसानलाई खान पुगेको छैन, बालबच्चा पढाउन र परिवारका सदस्य बिरामी पर्दा औषधोपचार गर्न सक्दैनन्। त्यसैले, उसको जीवन उन्नत बनाउन कृषिमा सुधार चाहिएको हो।

नेपालको आफ्नै विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिकका नाममा व्यापारिक बनाइनु र किसानलाई उपेक्षा गरेर बिचौलियालाई पोसिनु नै यो धराशायी हुनुकाे कारण हो।

दोस्रो, मुलुकको कृषि निरन्तर ओरालो लाग्दै किसान पलायन हुँदै गएका छन्। नेपालको आफ्नै विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिकका नाममा व्यापारिक बनाइनु र किसानलाई उपेक्षित गरेर बिचौलियालाई पोसिनु नै यो धराशायी हुनुकाे कारण हो।अहिले कृषि कर्म महिलाको भरमा छ। जमीन बाँझो छ। ताप्लेजुङदेखि दार्चुलासम्मका किसान गाउँ छोडेर शहर पसेका छन्। शहरमा टिक्ने शहरमा टिकेको छ, सक्ने विदेश गएको छ, त्यहाँ पनि जान नसक्ने कालापहाडमा, पिथौरागढमा, कुमाउ, गढवाल र दिल्लीमा चौकिदार भएर जिन्दगी गुजारिरहेको छ। त्यस्ता मान्छेहरूको जिन्दगीका बारेमा विचार गरे मात्रै कृषिमा रुपान्तरण किन गर्ने भन्ने विषयमा प्रष्ट हुन्छौं।

यसरी शहर पसेका र विदेशिएका मानिसलाई उतै रगत–पसिना बगाउन लगाउने हो कि घरपरिवार र समाजसँगै बसेर जिन्दगी बिताउने वातावरण बनाउने हो ? अहिले भनिने गरेको समृद्धि बालुवाटार, सिंहदरबारसँग सोझो पहुँच भएका सीमित व्यक्तिको वरिपरि मात्रै आउने हो कि आम मानिसका लागि पनि हो भन्ने जवाफ खोज्दा मात्रै किसानको उत्थान किन चाहिन्छ भन्ने प्रश्नको जरोमा पुगिन्छ।

अहिले व्यावसायिकता भनेको वातावरण बिगार्ने कुरासँग जोडिएको छ, जुन कृषिमा पूरापूर व्यापारीकरण बनेर देखिएको छ। खेतमा ट्याक्टर लगाउँदा, विषादी, कृत्रिम रसायन हाल्दा वातावरणमा असर पर्छ। हाम्रो कृषि भविष्यमा के हुन्छ, यसै भन्न नसक्ने स्थितिमा पुगिसकेका छौं।

तेस्रोे, हामीले आज जे खाँदैछौं, कस्तो खाँदैछौं भन्ने कुराको पनि जवाफ खोजौं। नसर्ने ६ वटा दीर्घ रोेग निरन्तर बढेको छ। अस्पतालमा भीड छ। धेरैजसो स्वास्थ्य समस्या विषादीयुक्त खानेकुरासँग जोडिएको छ।

अब, कुरा आउँछ, कृषि प्रणालीमा सुधार र रूपान्तरण कसरी गर्ने ?

कृषि प्रणालीबारे सोच्नेले के बिर्सन हुँदैन भने कृषि आज जस्तो छ, आजको भोलि नै रातारात सुधार हुँदैन। त्यो बन्न वर्षौं लाग्छ, जसरी बिग्रन ४०/५० वर्ष लाग्यो। आजको भोलि कृषि हराभरा हुँदैन, अहिलेको प्रवृत्ति पनि फेरिंदैन।

कृषि प्रणालीलाई सुधारका सन्दर्भमा हामी दुई चरणबाट विचार गरौं, संक्रमणकालीन र दीर्घकालीन। संक्रमणकालमा अहिले जे छ, त्यसैलाई उन्नत बनाउने कुरा सोच्ने हो। किसानले ऋण, अनुदान पाएका छन् ? छैनन् । किसानले दूध पोखेका हुन् ? होइनन्। दूध पोख्ने र कुखुराका चल्ला मार्ने काम बिचौलियाले गरेका हुन्। त्यसैले बिचौलियालाई होइन, किसानलाई अनुदान, ऋण र अरु के के सकिन्छ, शुरूमा त्यसमा सहयोग र लगानी गर्नुपर्छ।

यसका लागि किसान को हो भनेर परिभाषा गर्नुपर्छ। जुन पहिचानको लागि सम्बन्धित गाउँपालिका र वडालाई जिम्मा दिन सकिन्छ। त्यसमा नागरिक समाज, सञ्चारकर्मी र आम मानिसको सहयोगले पनि काम गर्छ।

शुरुमा एउटा किसानलाई कसरी टिकाउने, खेती गर्न योग्य कसरी बनाउने भनेर हेर्नुपर्छ। बीउ, मल, सिंचाइको उपलब्धता के कस्तो छ भन्ने पाटो पनि बिर्सन मिल्दैन। कृषि प्रसार गर्ने कर्मचारीको हालत, किसानलाई सघाउन जाने संघसंस्थाको ज्ञान र क्षमताको हालत हेरौं, यी हरेक आयाममा उत्तर खोजौं।

संक्रमणकालीन अवस्थाको कुरा गर्दा, कृषिको विभिन्न आयामलाई बिर्सन मिल्दैन। शुरुमा एउटा किसानलाई कसरी टिकाउने, खेती गर्न योग्य कसरी बनाउने भनेर हेर्नुपर्छ। बीउ, मल, सिंचाइको उपलब्धता के कस्तो छ भन्ने पाटो पनि बिर्सन मिल्दैन। कृषि प्रसार गर्ने कर्मचारीको हालत, किसानलाई सघाउन जाने संघसंस्थाको ज्ञान र क्षमताको हालत हेरौं, यी हरेक आयाममा उत्तर खोजौं। बीउका कारण कति नोक्सान भएको छ ? बाली थन्क्याउन नजानेर वा प्रविधि नपुगेर कति नोक्सानी भएको छ ? जमीन कति बाँझो छ ? ती सबैको हिसाब निकालेर चुस्त दुरुस्त बनाउने संयन्त्र तदारुकताका साथ बनाउनुपर्छ।

कृषि उत्पादनको आयात, निर्यात, आयात प्रतिस्थापन, भू–राजनीति, यससँग सम्बद्ध संघसंस्था, राज्यको लगानी क्षमता, जनस्वास्थ्य, शिक्षा, वन जस्ता विषयसँग जोडेर एकीकृत ढंगबाट हेरे मात्रै कृषिले आधार पाउँछ। यसले संक्रमणकालीन योजना बनाउन सघाउँछ। यसबाट दीर्घकालमा कृषिबाट नेपाललाई कस्तो बनाउन खोजेको भनेर दिशाबोध हुन्छ। नेपालीलाई खान पुग्ने बनाउन खोजेको कि, कृषि उत्पादन निर्यात गरेर आम्दानी गर्ने बनाउन खोजेको कि, नेपाललाई औद्योगिक देश बनाउन खोजेको कि भन्ने प्रश्नमा प्रष्टता दिन्छ।


तस्वीर: बिक्रम राई
कृषिका भ्रम

कृषिमा यन्त्रीकरणको कुरा चर्कोसँग गरिन्छ। तर, यो यन्त्रले के खान्छ, यिनले हाम्रो प्रकृति माटो र स्वास्थ्यमा के असर पार्छन् भन्ने विचार गरौं। सँगै, हाम्रो पहाडमा यन्त्रीकरण कुन रूपमा उपयोगी होला ? पहाडमा भिरालो पाखा हुने भएकाले खुट्टाले टेक्ने रोबोट भए त चल्ला, तर ट्याक्टर कहाँ चल्छ ? सरल किसिमको, हातले चलाउने खालको यन्त्र भए छुट्टै कुरा हो, नत्र पहाडमा यन्त्रीकरणले काम गर्दैन।

उदाहरण दिन्छु, अहिलेको अवस्थामा मकै छर्न दुई जना चाहिन्छ। एउटाले हलो जोत्दा अर्कोले दिनभरि बीउ खसाल्नुपर्छ। हलोमै बीउ हाल्ने सानो यन्त्र जडान गरिदिन किन नसक्ने ? यो प्रविधि अहिले कृषि अनुसन्धान परिषद् (नार्क) मा थन्किएको छ, तर खै किसानसम्म पुर्‍याएको? सरल प्रविधिलाई उन्नत बनाए खर्च आधा कम र सजिलो हुन्छ। किसानसँग भएको ज्ञानलाई उन्नत बनाउन किन नसकिने? हाम्रा खोलाको पानीलाई सजिलो हावा वा घामको प्रविधिबाट माथि तान्न सकिन्छ। त्यसमा लगानी गरौं, जसले गर्दा किसानले सिंचाइ पर्याप्त पाएर राम्ररी फलाउँछन्।

अहिले विदेशमा भएका नेपाली युवालाई फिर्ता ल्याएर व्यावसायिक कृषि गर्न लगाउनुपर्छ भनिन्छ। तर, म यसलाई ढाँट कुरा भन्छु। किनभने, यही खेती प्रणाली टिकाउन नसकेपछि र यसबाट घर व्यवहार नचलेर दुई–चार पैसा कमाउन उनीहरू विदेश गएका हुन्। दुई–चार जना १६–१७ वर्षे ठिटालाई विदेश हेरौं र मोबाइल किनौं भन्ने रहर लाग्यो होला, त्यो अर्कै कुरो। तर, ७० लाख नेपाली जो विदेशमा छन्, केही रहरले पुगे पनि अरु सबै बाध्यताले विदेश गएका हुन्। अर्थात्, कृषिबाट खान नपुगेर गएका हुन्। सबै कुरा यथावत् राखेर कृषिमा यिनलाई कसरी फर्काउन सकिन्छ र यिनीहरु किन फर्कन्छन् ? अहिलेको खेती प्रणालीबाट कसरी फाइदा हुन्छ र ती मान्छे फेरि फर्किएर कृषिमा आबद्ध हुन्छन् ? सबै बुद्धिजीवीलाई यी प्रश्नको उत्तर खोज्न चुनौती दिन्छु।

अहिले विदेशमा भएका नेपाली युवालाई फिर्ता ल्याएर व्यावसायिक कृषि गर्न लगाउनुपर्छ भनिन्छ। तर, म यसलाई ढाँट कुरा भन्छु। किनभने, यही खेती प्रणाली टिकाउन नसकेपछि र यसबाट घर व्यवहार नचलेर दुई–चार पैसा कमाउन उनीहरू विदेश गएका हुन्।

कृषिलाई साँच्चिकै सुधार्ने हो भने शुरूमा हाम्रो कृषि प्रणालीलाई खुट्टाले टेक्ने बनाउनुपर्छ। जुन कारणले युवाहरु विदेश पलायन हुन बाध्य भए, त्यो कारण मसिनो गरी हेरौं। किसानलाई टिकाइराख्न के गर्ने ? अहिले एकातिर धेरै जमीन बाँझो छ, अर्कातिर भूमिहीन किसान छन्। भूमिहीन किसानलाई सरकारले रातो पूर्जा होइन, हरियो पूर्जा दिनुपर्छ। अर्थात्, सुकुम्बासीका नाममा जग्गा बाँड्नेभन्दा पनि वास्तविक किसानलाई खेती गर्ने जग्गा दिने मुख्य कुरा हो। तर, किसानले जमीनको हक पाउनुपर्दैन भन्न खोजेको होइन। जमीनको हक खोज्ने बेला पुरानो भइसक्यो मात्रै भनेको हुँ। किसानलाई त जीविका, रोजगारी र आम्दानीको हक चाहिएको हा । रातो पूर्जा गोजीमा हालेर सुत्न पाउँछु कि पाउँदिनँ भन्ने वेला अहिले होइन। यो कुरा खेती गर्ने किसानले बुझेका छन्।

जमीनको व्यवस्था गर्ने हो भने सरल कुराबाट थालनी गर्नुपर्छ। खेती गर्ने गरी जो किसान फर्किएर आउँछन्, उनीहरुलाई संक्रमणकालीन कृषि गर्न तथा भविष्यमा समृद्धिको आधार उन्नत खेतीपातीलाई बनाउन जमीन उपलब्ध गराउनुुपर्छ। त्यसका लागि धेरै परको लामो सपना बाँड्नुपर्दैन। तत्कालीन अवस्थामा खानेकुराको जोहो गर्न आवश्यक सहयोग, आँट, भरोसा र ज्ञान दिनुपर्छ। त्यो जिम्मा स्थानीय सरकारलाई दिऔं।

म त के भन्छु भने, नेपाल जति कृषि प्रणालीको सम्भावना भएको देश संसारमै कमै छन्। र, अहिले सबैभन्दा परनिर्भर देश पनि यही भयो। नेपालमा कृषिलाई गुजारा चलाउने निर्वाहमुखी भयो भनिन्छ, यो आफैंमा नराम्रो होइन। आफूले खाने र बचेको अरुलाई बेच्ने हो। गुजारा चल्नुलाई निम्छरो मान्ने हाम्रो सोच र बुझाइ फेर्नुपर्छ।

व्यावसायिक कृषि पक्कै पनि नराम्रो कुरा होइन। तर, दुई वटा कुरा मसिनो गरी बुझ्नुपर्छ। मानव समाज सहकार्य, सम्बन्ध र समझदारीमा चलेको हुन्छ। सामूहिकतामा विश्वास गर्ने भएकाले यसले लेनदेनमा विश्वास गर्छ। शुरूमा प्रचलनमा रहेको ऐंचोपैंचो र लेनदेन विनिमय गर्न पैसा बनेको हो। तर दुर्भाग्य, त्यही पैसालाई सबै अन्तिम सत्य बनायौं। परिणामस्वरूप, खेतीपाती खानका लागि नभई पैसाका लागि गर्ने भयौं। त्यसैलाई व्यावसायिक भन्यौं। उत्पादन गर्दा प्रकृति कति बिगार्‍यौं, वातावरणमा कति क्षति पुर्‍यायौं, सिङ्गो प्रकृतिको दोहन कति गर्‍यौं भन्ने पक्षतिर पनि विचार गर्नुपर्छ।

खेती गर्ने गरी जो किसान फर्किएर आउँछन्, उनीहरुलाई संक्रमणकालीन कृषि गर्न तथा भविष्यमा समृद्धिको आधार उन्नत खेतीपातीलाई बनाउन जमीन उपलब्ध गराउनुुपर्छ। त्यसका लागि धेरै परको लामो सपना बाँड्नुपर्दैन। तत्कालीन अवस्थामा खानेकुराको जोहो गर्न आवश्यक सहयोग, आँट, भरोसा र ज्ञान दिनुपर्छ।

अहिले व्यावसायिकता भनेको वातावरण बिगार्ने कुरासँग जोडिएको छ, जुन कृषिमा पूरापूर व्यापारीकरण बनेर देखिएको छ। खेतमा ट्याक्टर लगाउँदा, विषादी, कृत्रिम रसायन हाल्दा वातावरणमा असर पर्छ। हाम्रो कृषि भविष्यमा के हुन्छ, यसै भन्न नसक्ने स्थितिमा पुगिसकेका छौं। कोरोनाभाइरस जस्ता संकट आउनुको पछाडि यस्तै वातावरण विनाशसँग जोडिएका कुरा छन्।

अहिले विषादी, कृत्रिम रसायन राखेर उत्पादन बढाउने कुरा गरिन्छ। रसायनिक मललाई म कृत्रिम रसायन भन्छु। त्यो बनाउने प्रक्रिया विषाक्त छ। उदाहरणका लागि, युरिया मल माटोमा हुने जीवाणुका लागि विषसरह हुन्छ। विषादीहरुको त कुरै नगरौं। अहिले त जेनेटिकल्ली मोडिफाइड जीएमओ बनाएर प्रगति गरिएको भनी कुरा गरिन्छ। तर, यसले निम्त्याउने जोखिम अकल्पनीय हुन्छ।

निर्विकल्प नयाँ संयन्त्र

भविष्य भनेको नहिंडेको बाटो हो, जुन अनुभवका आधारमा सिकेर अघि बढ्दै जानुपर्छ। कृषिको भविष्यको बाटो तय गर्न किसानको अनुभव र त्यसबाट सिक्ने प्रवृत्ति भएका मानिसबाट मात्र सम्भव छ। किनभने उसले खेतिपाती गर्न विवेक लगाउछ र यस्ता मानिसले तिनका अनुभवको सम्मान गर्दै उनीबाट सिक्ने प्ररणा लिन्छन्। त्यसैले यस्ता अभियन्ता (अर्गानिक इन्टलेक्चुअल) र किसानको अनुभव एकै ठाउँमा ल्याएर त्यसलाई परिष्कृत गर्दै लैजानुपर्छ।

अहिलेको कृषि प्रशासन र सरकारी प्राविधिक कर्मचारीले मात्र कृषि क्षेत्र सुधार्ने जिम्मेवारी थाम्न सक्दैन। कर्मचारीतन्त्र भुत्ते भएकाले यसलाई समयानुकूल पुनर्संरचना नगरी कृषिलाई गतिशील बनाउने पहलकदमी सरकारले लिन सक्दैन र अहिलेकै अवस्थामा सरकारले जिमा नलिए अघि बढाउन सकिंदैन।

कृषि प्रणालीलाई किसान र देशका लागि जोगाउने हो भने दीर्घकालीन सोचमा काम गर्नुपर्छ। त्यसका लागि केही आधारभूत कुरा गर्नुपर्छ। नेपालको विशेषताका आधारमा भविष्य समेत हेरेर कृषि क्षेत्र उन्नत बनाउन प्रतिबद्ध हुनुपर्छ। यस क्रममा विषादीमा आधारित व्यापारिक कृषि होइन, भूगोल र मौलिक ज्ञान अनुसारको खेतीमा जोड दिनुपर्छ। खाद्य सुरक्षा गर्ने, जनताको जीवन सुरक्षित पार्ने हो भने कृषि कर्म व्यापारिक होइन, खानका लागि हो भनी स्वीकार्नुपर्छ। कृषिमा सुधार गर्न पहिला ऐन कानूनबाट नीतिगत हिसाबले बाँधेर बिचौलियालाई नियन्त्रित गर्न जरुरी छ।

सरकारलाई बिचौलियाको घेराबाट निस्किएर किसानसम्म अनुदान पुर्‍याउने इच्छाशक्ति आवश्यक छ। त्यसका लागि सरकार, पार्टी र सिङ्गो समाजको बल चाहिन्छ। के हामी बिचौलियालाई अनुदान रोक्न तयार छौं ? बिचौलिया पोस्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्ता परियोजना बन्द गर्न तयार छौं ? आगामी बजेटबाट निरीह साना किसानलाई जोगाउने योजना अघि सार्छौं? यहाँबाट शुरूआत गरे मुलुकमा कृषिले खुट्टा टेक्न शुरू गर्छ।

यति मात्र होइन, अहिलेको कृषि प्रशासन र सरकारी प्राविधिक कर्मचारीले मात्र कृषि क्षेत्र सुधार्ने जिम्मेवारी थाम्न सक्दैन। कर्मचारीतन्त्र भुत्ते भएकाले यसलाई समयानुकूल पुनर्संरचना नगरी कृषिलाई गतिशील बनाउने पहलकदमी सरकारले लिन सक्दैन र अहिलेकै अवस्थामा सरकारले जिमा नलिए अघि बढाउन सकिंदैन। सरकारी मात्रै होइन, गैरसरकारी संरचनामा पनि पर्याप्त खोट छ। दाताका परियोजनामा पनि प्रश्न उठ्छ। ३६ हजार सहकारीले कृषिलाई के सुधार गरे ? झोलामा बोकेर हिंडिने सहकारीले कृषिलाई उत्थान गर्दैन। यी सबै कुरा फर्केर हेर्न र सच्याउन एउटा नयाँ संयन्त्र बनाऔं, जहाँ सबैको होस्टे–हैंसे सम्भव हुन्छ। अहिले जे गर्दैछौं, गलत गर्दैछौं भनी स्वीकार गरौं र बाटो सच्याइहालौं।