रुपन्देहीको सैनामैनाबाट २ किलोमिटरभित्र लखनपारा गाउँ छ । लखनपारालाई अहिले बाख्रार्फमको नामले चिनिन्छ । सैनामैना नगरपालिका–४ रानिबगियामा पर्ने सो स्थानमा विगत ९ वर्षदेखि नमूना व्यावसायिक बाख्रार्फम सञ्चालनमा आएपछि त्यो ठाउँको नाम समेत बाख्राफर्म रहन गर्‍यो ।


देशमा कृषि क्षेत्रमा सम्भावना भएपनि आम मानिसको हेराइ राम्रो छैन । कृषिप्रतिको नकारात्मक दृष्टिकोण परिर्वतन गर्न १७ वर्ष पत्रकारिता र साहित्यको पेशा चटक्कै छाडेर प्रेमसागर पौडेलको जोडी बाख्रापालन पेशामा होमिएको छ । प्रेमसागर र उनकी पत्नी ज्ञानकुमारी पुन स्नातकोत्तर उत्तीर्ण हुन् ।

प्रेमसागरले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र मावनशास्त्रमा स्नातकोत्तर गरेका छन् भने पत्नी पुनले बेलायतको लण्डन युनिभर्सिटीबाट बिजनेश म्यानेजमेन्टमा एमडी गरेकी छन् । ‘डिग्री होल्डर’ यो जोडीले खोलेको फर्म हो, सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र ।

बाग्लुङको साविक पैञ्यूथन्थाप गाविस (हाल जैमिनी नगरपालिका–९) लाम्सुकको जोडी रूपन्देहीमा आएर बाख्रापालनमा सफल भएको छ । नेपालमै व्यावसायिक कृषि सम्भव छ भन्नका लागि प्रेमसागरको जोडी प्रेरणाको स्रोत बनेको छ । सागर र ज्ञानकुमारी आफूहरूले जस्तै अरुले पनि व्यावसायिक कृषि गरून् भन्ने अभिप्राय रहेको बताउँछन् ।

२०६८ सालमा अस्ट्रेलियाबाट बाख्रा ल्याएर उन्नत जातका पाठापाठी (बिडिङ) गर्ने उद्देश्यले प्रेमसागरसहित ५ जना युवाको समूहले १ करोड रुपैयाँको लगानीमा फर्म शुरू गरिएको थियो । २६ वटा बाख्राबाट शुरू गरिएको फर्ममा अहिले ५०० भन्दा बढी बाख्रा छन् । फर्ममा पहाडी र तराईका जिल्लामा पाल्न सकिने उन्नत नश्लका बाख्रा र तिनैमार्फत ब्रिडिङ गरी पाठापाठी उत्पादन गरिन्छ ।

‘हाम्रो फर्मबाट धेरै प्रभावित भएका छन् । हामीले शुरू गरेपछि बल्ल व्यावसायिक बाख्रापालन शुरू गर्ने अवधारणा पनि आयो,’ पौडेल भन्छन । प्रेमसागरले अहिले वर्षमा २०० भन्दा बढी पाठापाठी (बीउ बाख्रा) हुर्काएर बिक्री गर्छन् । फर्ममा उन्नत जातका बोका लगाएर जन्मिएका पाठापाठीलाई बिक्री वितरण गरिन्छ भने अन्य किसानको माग अनुसारको माउ बाख्रा समेत बिक्री वितरण गरिँदै आएको पौडेल बताउँछन् ।

 

फर्ममा अहिले संसारकै राम्रो मानिने बोयर (अस्ट्रेलियन, अमेरिकन र बन्दीपुरे) बोकाबाट क्रस गराइएका पाठापाठी छन् । संसारकै ठूलो शरीर र छिटो बढ्ने अस्ट्रेलियन बिट्टल, सबैभन्दा स्वादिष्ट मासु मानिने अफ्रिकन बारबरी बाख्राका पाठादेखि अजमेरी, ब्ल्याक बंगाल, मुडुलो, जमुनापारी, तराई बाख्रा, खरी लगायत उन्नत जातका बाख्राका पाठापाठी उत्पादन भइरहेका छन् । फर्ममा माउ, बोका र पाठापाठी बस्न छुट्टाछुट्टै आधुनिक खोर तथा बाख्राले घाँस खाने छुट्टै ठाउँ बनाइएको छ ।

प्रेमसागरको जोडीले बाख्राका पाठापाठी बिक्री गरेर वार्षिक १ करोड रुपैयाँसम्म आम्दानी गर्न सफल भएको छ । स्थानीय पर्रोहा माविको १० बिगाहा जग्गा ‘लिज’ (भाडा) मा लिएर फर्म सञ्चालन गरिएको छ । शुरूमा सामूहिक रुपमा चलाएको फर्म अहिले प्रेमसागरको एकल भएको छ ।

 

फर्ममा हालसम्म ५ करोड रुपैयाँ लगानी पुगिसकेको छ । ‘नेपालमा कृषि गर्ने अनुकूल वातावरण नै छैन । राजनीतिक दल नीति होइन, नेताबाट चल्छन् । प्रतिकूल अवस्थामा पनि मैले केही गर्नुुपर्छ भनेर कृषिमा होमिए सफल पनि भएको छु,’ पौडेलले भने, ‘राज्यले कमिसन दिनेलाई अनुदान दिन्छ । वास्तविक किसानले राहत, अनुदान नपाउने नक्कलीले पाउने प्रवृत्ति छ ।’

कृषि क्षेत्रमा रहेका समस्यासँग लड्ने संघर्षशील युवा उद्यमीको रुपमा प्रेमसागरलाई धेरैले चिन्छन् । सागरको फर्मबाट अहिले हिमाली जिल्लाबाहेक सबै जिल्लामा पाठापाठी जान्छन् । प्रेमसागरसँग मिलेर २८ जिल्लामा पनि बाख्रापालक विभिन्न व्यक्तिले बाख्रापालन गरिरहेका छन् । पाठापाठी प्रतिकेजी १ हजारदेखि १ हजार २०० रुपैयाँसम्ममा बिक्री गरिन्छ । सबै क्षेत्रमा बाख्रा लैजान सहज होस् भनेर रुपन्देहीमा आएर व्यवसाय शुरू गरेको पौडेल बताउँछन् । उनी भन्छन्, ‘शारीरिक परिश्रम गर्न सजिलो छैन । कृषि पेशाप्रति राज्यको ज्ञान र ध्यान दुवै छैन ।’

सामान्यतया आमाको दूध खान छोड्ने बेलासम्म एउटा पाठापाठीको तौल कम्तीमा ३० किलोग्रामको हुने र ३० हजारसम्ममा बिक्री हुने पौडेल बताउँछन् । कम्तीमा २ वटादेखि ५ वटासम्म पाठापाठी जन्माउने यी बाख्राका जातको अधिकतम तौल १०० किलोग्रामसम्म हुने गर्दछ । फर्ममा वर्षमा ३ बेतसम्म बाख्राले पाठापाठी दिन्छन् ।

 

फर्ममा अहिले १४ प्रजातिका बाख्रा छन् । उनले बाख्राको लागि आवश्यक पर्ने हरियो घाँस आफैं उत्पादन गर्ने गर्छन् । यहाँ उत्पादित घाँस ३५ जिल्लासम्म पुग्ने गर्छ । फर्ममा १४ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् तर अहिले ‘लकडाउन’को कारण कामदार आउन नसक्दा फर्मको धेरै काम पतिपत्नीले नै धानिरहेका छन् । लकडाउनले भेटेनरीहरू बन्द हुँदा पौडेलले बाख्राको औषधि, भिटामिन लगायत बाख्राको लागि आवश्यक पर्ने वस्तुहरू किन्न पाएका छैनन् । मेडिकल जस्तै भेटेनरीलाई पनि अत्यावश्यक वस्तुको रुपमा राख्नुपर्ने पौडेल बताउँछन् ।

कोरोना संक्रमणबाट मुलुकमा सिर्जना भएको आर्थिक संकटलाई निकास दिन ७५३ वटै स्थानीय तहमा कृषि र पशुपालको व्यवसायको योजनाबद्ध विकास गर्नुपर्ने पौडेलको सुझाव छ । ‘नेपालमा कृषि उत्पादनको लागत बढी छ । मशिनबाट खेती नहुँदा लागत बढी पर्न जान्छ । जुन उत्पादन विश्वका प्रविधिबाट उत्पादन उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैन,’ उनले भने, ‘जसले गर्दा नेपाली कृषक कृषि पेशामा टिक्न सक्दैनन् । कृषिमा लागेको व्यक्ति ३ वर्षसम्म टिक्न सके किसान पलायन हुनु पर्दैन ।’

नमूना फर्मको रुपमा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) बाट समेत पौडेलको फर्म पुरस्कृत भएको छ । उनले कतै ठूलो तालिम लिएर व्यवसाय शुरू गरेका होइनन् । ‘तालिमभन्दा पनि काम गर्दै गएपछि निपूर्ण भइन्छ । त्यहीँबाट सिक्दै जाने हो,’ उनले भने । पतिपत्नी २ जना अहिले धेरै ठाउँमा बाख्रापालन सम्बन्धी प्रशिक्षणका लागि पुग्छन् । पौडेल जोडी जस्तै निर्वाहमुखीभन्दा व्यावसायिक कृषि पेशा गर्नसके नेपालको कृषिक्षेत्र आत्मनिर्भर हुने निश्चित छ ।