देशभर लकडाउन रहेका बेलामा स्याङ्जाको ग्रामीण भेगका मानिसहरुलाई यतिबेला कामकै चटारो छ । खेतबारीमा मल बोक्न, चैते धान रोप्न, मकै छर्न, गहुँ, तोरी र आलु थन्काउने कामको भ्याइनभ्याइ छ यहाँका किसानलाई ।


गहुँ ठुट्याउने काममा व्यस्त रहेका स्याङ्जाको गल्याङ नगरपालिका–३ का कृषक । तस्बिर सौजन्यः कृष्ण बस्याल


लकडाउनले किसानलाई प्रभाव नपारेको बताउँछन् गल्याङ नगरपालिका–३ का कृष्ण बस्याल । भन्छन, ‘डरलाग्दो कोरोना भाइरसको सावधानी भने अपनाएका छौं । तर पनि गाउँघरमा यसै बसेर कहाँ पुग्छ र ? हामी त मल बोक्ने, खेतबारी जोत्ने मकै छर्ने र चैत्ते धान रोप्ने साथै मंसिरमा लगाइएका आलु थन्काउने काममा व्यस्त छौं ।’
गाउँघर चहलपहल भएको उनले बताए । बजार क्षेत्र सुनसान भएपनि गाउँमा लकडाउनको बेला भन्दै फर्किनेको संख्या पनि उस्तै भएकाले अन्य समयभन्दा यसबेला चहलपहल भएको उनले सुनाए । ‘बजारमा लकडाउन गाउँमा कामको चटारो छ’ बस्यालले थपे, ‘घरमा दाउरा चिर्ने र हार बनाउने पनि काम चलिरहेको छ ।’ बस्यालले कम्प्युटरको बिक्री वितरण र बनाउने कामको व्यवसाय गर्छन् । पसल खोल्न नपरेको समयमा कामको चाप भएको र यहीबेलै सिध्याउनुपर्ने उनी बताउँछन् ।


उनका अनुसार सबै परिवारका सदस्य जम्मा भएको मौकामा घरको कामलाई मद्दत पुगेको छ । परिवारको धेरै सदस्य भएकाले पनि गाउँको काम झ्यापझुप सम्पन्न हुने बताउने उनी थप्छन्, ‘कामले लोध परिएको छ । थकाइको भने कुरा नगरम ।’


उनी जस्तै फेदीखोला गाउँपालिका–१ का विश्वप्रकाश सुवेदी पनि कृषि काममा नै व्यस्त देखिन्छन् । व्यवसायिक रुपमा मौसमी तथा बेमौसमी दुवै खेती लगाउँदै आएका उनले लकडाउनको अवधिमा कति काम सक्ने भनेर योजना अनुरुप काम गर्दै आएको बताए ।


फेदीखोला १ तल्लो कुँडुलेमा रहेको मुख्यमन्त्री नमुना गाउँका अध्यक्षसमेत रहेका सुवेदीले लकडाउनले आफूजस्ता किसानलाई खासै असर नपुगको बताए । बिक्री गर्नुपर्ने तरकारीको पनि बजार समस्या नरहेको बताउने उनले समस्या आइहालेमा पनि गाउँपालिकाले सहजीकरण गरिदिने गरेको बताए ।


यसैगरी फेदीखोला–१ मा रहेको दिदीबहिनी कृषक समूहकी अध्यक्ष सीता शर्मा क्षेत्रीले पनि लकडाउन भएपनि किसानलाई भने कुनै पनि अप्ठ्यारो नपरेको बताइन् ।


‘गाउँमा समूहले सामूहिक रुपमा व्यवसायीक खेती गर्दै आएका छौं,’ उनले भनिन, ‘मौसमी तथा बेमौसमी दुवै खेती लगाएका छौं । केही दिनअघि आएको असिनापानीले ठूलो मात्रामा हाम्रो खेती नष्ट गरिदियो । फल खानेबेलाको खेती बाँझो जमिनमा परिणत भयो । अहिले हामी पुनः सिमी, काँक्रो, करेला, बोडी, टमाटार, घिरौलाका बेर्ना लगाउन थालेका हौं । यसैमा व्यस्त छौं ।’ उनले आलु खन्ने काम र काउली, बन्दा बिक्री गर्ने काम सम्पन्न भइसकेको बताइन् । यो गापामा केहीदिन अघि परेको असिनापानीले १० करोड बराबरको खेतीबाली नष्ट गरिदिएको थियो ।


गाउँपालिकाले ठूलो क्षति भएकालाई तत्काल र सानो क्षति भएकालाई तथ्यांक संकलन गरेर राहात विरतण गर्दै आएको थियो । लकडाउनका कारण केही किसानलाई क्षतिपूर्ति दिन नसकिएको गापा अध्यक्ष घनश्याम सुवेदीले बताए । फेदीखोला– २ वडाचौरका सुजन पोखरेलले सिदार्थ राजमार्ग सुनसान भएपनि कृषक भने आफ्नो दैनिकी काममा नै व्यस्त रहेको बताए ।
प्रकाशित : चैत्र २८, २०७६ ०९:५५