एक फल जसको व्यवसायिक महत्व रहे पनि अधिकांशलाई यस बारे जानकारी नै छैन। त्यसबारे यहाँ एक प्रस्तुति तयार गरिएको छ । सरिफा फलको व्यवसायिक खेती बारे एक युवा कृषक एवम उद्यमी रितेशकुमार साहले तयार गरेको प्रस्तुति यहाँहरुको लागि पस्कने जमर्को गरेका छौं  ।

परिचय

यो एउटा सुख्खा क्षेत्रमा हुने एक स्वादिष्ट फल हो । यसलाई अग्रेजीमा Custard Apple भनिन्छ  भने यसको बैज्ञानिक नाम Annona squamosa हो । यसलाई नेपालमा स्थानीय स्तरमा सरिफा, आँटी वा आँट नामले चिनिने यो फललाई सिताफल पनि भनिन्छ ।

यो नेपालको एक रैथाने फल हो । नेपालको धेरै ठाउँमा यसको स्थानीय जातहरु आफैं उम्रेर फलेको पाईन्छ ।

यो तराई भित्री मधेस मध्य पहाडी क्षेत्रको सुख्खा , पानी नजम्ने समथर तथा भिरालो जमिनमा पाईने बहुवर्षिय पतझड र झाडीदार फल हो ।

पोषणको हिसाबले एकदमै महत्वपूर्ण यो फलको महत्व बढ्दै गएको पाईन्छ ।

नेपालको धेरै क्षेत्रहरु जहाँ सुख्खा र पानीको अभाव हुन्छ तेस्तो ठाउँहरुमा यसको व्यवसायिक खेती गरि थप आयआर्जन गर्न सकिने संभावना प्रशस्त छ।

सरिफाका फाईदाहरु

  • यो फल ताजा खान सकिन्छ । यसमा न्यून घुलनशिल चिल्लो पदार्थ, भिटामिन सि, साथै खनिज पदार्थहरु सोडियम, म्यागानिज, फलाम र पोटासियम प्रचुर मात्रामा पाईन्छ ।

 

  • यसको दानाहरु तथा पात बिभिन घरेलु औषधिको रुपमा प्रयोग गरिदै आईएको छ । यसको पातलाई कुटेर निकालिएको झोललाई कपालमा आउने चाया हटाउन औषधिको रुपमा प्रयोग गरिन्छ ।

 

  • यसको अलवा यसको पात गाईबस्तुले मन नपराउने हुँदा जमिनमा घेराबेराको लागि बारको रुपमा प्रयोग गरेको पाईन्छ ।

हावापानी

सिताफल उत्पादनको लागि सुख्खा तथा उष्ण हावापानी उपयुक्त हुन्छ ।

यद्यपि अत्याधिक न्यून तापक्रम र तुषारो भने सहन सक्दैन ।

फूल फुल्नको लागि तातो र सुख्खा हावापानी चाहिन्छ तर फल लाग्नको लागि भने हल्का वर्षा आबश्यक हुन्छ किनकी न्यून सापेक्षित आर्द्रता यसको परागसेचन तथा फल लाग्ने समयमा समस्या हुन्छ । यस फलको राम्रो वृद्दि विकासको लागि वार्षिक बर्षा ५० देखी ६० से.मि. राम्रो मानिन्छ ।

माटो

यसको खेती हलुका माटो भएको भिरालो जमिनमा सफलतापुर्वक गर्न सकिन्छ ।

  • जमिन कम्तिमा एक मिटर गहिरो माटो हुनु राम्रो मानिन्छ ।

 

  • यसको खेतीको लागि पानीको राम्रो निकासको ब्यबस्था हुन अत्यन्तै जरुरी छ । निकासको राम्रो ब्यवस्था भएको जुनसुकै माटोमा पनि यस फलको खेती सफलतापूर्वक गर्न सकिन्छ ।

 

  • यसलाई बलौटे दोमट माटो उपयुक्त मानिन्छ ।
    हल्का नुनिलो तथा अम्लीय माटोले यसलाई खासै असर नगरेता पनि क्षारीय तथा पानी जम्ने माटोले फल उत्पादन तथा वृद्दिमा नकारात्मक असर गर्दछ ।

जात

सरिफाको धेरै स्थानीय जात भएपनि कम फल्ने फलको साइज अकार सानो हुने भण्डारण क्षमता कम हुने र बजारमा तेती धेरै माग नभएको कारण उन्नत जात सुपर गोल्डेन व्यावसायिक खेतीको लागि सरिफाको सर्बोत्कृष्ट जात हो ।

विरुवाको छनौट

आँटी फलको प्रसारण मुख्यतयाः यसको फल भित्रको बीउबाट गरिन्छ तर बीउबाट उत्पादित बिरुवा ढिलो 5-7 वर्षपछि फल्ने भएको हुँदा व्यावसायिक खेतीको लागि राम्रो मानिदैन ।
ग्राफ्टीङ्ग बिरुवा ३ वर्षबाट नै फल्न थाल्छ व्यावसायिक हिसाबले खेती गर्दा कलमी बिरुवाको प्रयोग गर्नुपर्छ ।

 

 

खाडलको तयारी तथा मलखाद

यसका लागि वर्षात अगाबै ४–५ × ४–५ मिटरको फरकमा ६०×६०×६० से.मी.को खाडलमा प्रशस्त मात्रामा प्राङ्गारिक मल, साथै फस्फोरसयुक्त मलखाद र निमको पिना आदि राखेर तयार गरी बिरुवा सार्नु पर्दछ ।

विरुवा रोपण

  • सिताफलको बेर्ना रोप्ने कार्य मुख्यतयाः वर्षा याम जेठ- भादौ महिनामा गरिन्छ ।
  • मलखाद मिसाई तयारी पारिएको खाडलमा १ फिट खनेर पोली ब्याग बाट बिरुवा झिकी तेती नै भाग गाडनुपर्छ ।
  • बिरुवा रोपीसकेपछि छेउछाउबाट हल्का थिची पानी दिइहाल्नुपर्छ ।

सिंचाई

यसको खेती मुख्यगरी आकाशे पानीको भरमा गरिन्छ त्यसैले खास सिंचाईको जरुरत पर्दैन ।
यसको फुल फुल्ने समयमा पानी आबश्यक पर्ने तर आकाशबाट पानी नपर्ने हुँदा जमिनमा हल्का चिस्यान कायम राख्न जरुरी हुन्छ ।
जसको लागि थोपा सिचाई प्रबिधि प्रयोग गर्नु उपयुक्त हुन्छ ।

काँटछाँट र तालिम

बिरुवा रोपेको पहिलो र दोस्रो बर्षमा बोटको निश्चित आकार दिन र उपयुक्त फैलावट गराउन तालिम दिनु पर्दछ । साथैं नियमित रुपमा कमजोर, जेलिएका, सुकेका, रोगी हागाँबिगाँहरु हटाउनु पर्दछ ।

फूल फुल्ने तथा फल लाग्ने

फागुन देखि बैशाख सम्म फुल फुलेर साउन देखि असोजमा फल उत्पादन हुन्छ ।
सधारणतया कलमी बिरुवाहरु २/३ वर्षबाट राम्रो सङ्ग फूल्न तथा फल्न थाल्दछ ।

फल टिप्ने

बिरुवा सारेको ३ देखि ४ बर्षमा फल उत्पादन सुरु हुन्छ ।
यसको फलको रंग नपाक्दा हरियो हुने र पूर्णरुपमा परिपक्व भए पछि हल्का पहेँलो रंग देखा पर्दछ ।
फल पूर्णरुपमा परिपक्व भएपछी टिपेर बजार पठाउन सकिन्छ ।

उत्पादन

एउटा परिपक्व रुखले बार्षिक ५० देखि १०० वटा सम्म फल दिने र एउटा फलको तौल ३०० देखि ४०० ग्राम सम्म हुन्छ ।

बजारभाउ

लोकल जातको तुलनामा उन्नत जातले बढि मूल्यमा बिक्री हुन्छ ।
लोकल जातहरु ५०-१००  प्रति केजी मा बिक्री हुन्छ ।
उन्नत जात (सुपर गोल्डेन) १०० – २०० प्रति केजी मा बिक्री हुन्छ ।

नेपालको धेरै ठाउँमा यसको लोकल जातहरु फलिरहेको हुन्छ ।
उन्नत जातहरु लगाई यसको ब्यावसायिक खेती गरि थप आयआर्जन गर्न सकिने संभावनालाई व्यवाहारमा ल्याउन सम्पुर्ण सरोकारवालाहरुले ध्यान दिनु सान्दर्भिक हुन्छ ।