आजकल कमै युवाको ध्यान कृषि कर्ममा हुन्छ । बहुसंख्यक युवाले वैदेशिक रोजगारी ताकेका हुन्छन् भने बाँकीले देशभित्रै छिटो आर्जन गर्ने माध्यमहरु खोजिरहेका हुन्छन् । माटोमा समृद्धि देख्ने कमै फेला पर्छन् ।

तिनैमध्येका हुन् भरतपुर महानगरपालिका– २४ जगतपुरका दीपक र रतिमा गुरूङ । गुरूङ दम्पती इजरायलमा सिकेको कृषी सिप प्रयोग गरेर नेपालमा भविष्य बनाउन दत्तचित्त छन् । उनीहरुले १३ बिघा जमिनमा इजरायली मोडलमा तरकारी खेती गरिरहेका छन् ।


उनीहरुले थोपा सिंचाइ प्रणाली जडान गरेका छन् । यो प्रविधिमा पानी खेर नजानेगरी विरुवाहरुलाई पानी र मल दिन सजिलो हुन्छ । उनीहरुले विरुवा हुर्काएपछि निरन्तर फल्ने लौका, फर्सी, करेला, भिन्डी, टमाटर, भेंडे खुर्सानी लगाएका छन् । ‘काउली, बन्दा एक पटक टिपेपछि सकिन्छ’, दीपक भन्छन्, ‘हामी तीन महिना टिपिरहन पाइने बाली मात्र लगाउँछौं । यसरी नै गत वर्ष करिब एक करोड रुपैयाँको तरकारी टिपियो ।’

गुरुङ दम्पतीले सरकारको अनुदानमा एक बिघामा टनेल बनाएका छन् । उनीहरुको खेतीमा मासिक ६ लाखदेखि ७ लाखसम्म खर्च हुन्छ । फार्ममा अस्थायी र स्थायी काम गर्ने ३५ जनाको मासिक तलवमा मासिक चार लाख जान्छ ।

मलको लागि कृषि फार्मभित्रै तीन हजार कुखुरा पालिएको छ । यो तरकारी फार्मको मुख्य बजार काठमाडौं, पोखरा र नारायणगढ हो । व्यापारीहरु तरकारी लिन फार्ममै आउँछन् । भरतपुर– ७ कृष्णपुरमा घर भएका रतिमा र दीपक फार्ममै बस्छन् । रतिमा भन्छिन्, ‘३०–३५ जनालाई भए पनि रोजगारी दिएका छौं, उत्पादन बढाएका छौं, भविश्य राम्रै होला ।’

इजरायलले सिकाएको सीप

तनहुँको चन्दनीबाट २०६० सालमा चितवन बसाइँ सरेका दीपकको पढाइ बेलायती सेनामा भर्ती हुने रहरले बिथोल्यो । त्यसमा असफल भएपछि उनी कृषि कामदार बनेर इजरायल पुगे । उनले त्यहाँ ३३५ हेक्टरमा फैलिएको फार्ममा चार वर्ष काम गरे । त्यो विशाल फार्ममा मेशिनले गर्न नमिल्ने काम मात्र मान्छेले गर्नुपर्थ्यो ।

मासिक नेरु. ५० हजार सुरुमा पाएका दीपकको तलव फर्किने बेलामा दुई लाख पुगेको थियो । त्यो फार्ममा काम गर्ने ११ जना नेपालीमध्ये मै थिइन्, रतिमा पनि । दीपक र रतिमाले त्यहाँ पाँच वर्ष काम गरेर भरतपुर आसपासका पाँच ठाउँमा घडेरी जोडे ।
उनीहरुले इजरायलमा जानेको सीप प्रयोग गर्न जगतपुरमा तीन बिघा जग्गा किने । त्यसपछि घडेरी बेचेर फार्ममा लगानी गरे । तर, जगतपुरमा पानीको अभाव थियो । सातौं पटकको बोरिङमा मात्र पानी आयो । ‘बोरिङमै ३० लाख र टनेलमा ४२ लाख खर्च भयो’, दीपक भन्छन्, ‘पहिलो वर्षको तरकारी असिनापानीले खाइदियो ।’

२०६५ सालबाट ‘एग्रोनोमी कृषि फार्म’ दर्ता गरेर तरकारी व्यवसाय थालेका गुरुङ दम्पती किसानमा धैर्य हुनुपर्ने बताउँछन् । धैर्यपूर्वक काम गरेर सुरुको घाटापूर्ति गरेका गुरुङ दम्पतीले अहिले ४३ लाखमा गाडीसहित डेढ करोडको भौतिक सम्पती जोडेको बताउँछन् ।

अस्थिर बजारमा बिचौलिया हावी
तरकारी किसानलाई बजारको उतारचढावले सताउने गरेको छ । बजारको उतारचढावले तरकारी सस्तो हुँदा किसानलाई घाटा हुन्छ, महँगो हुँदा उपभोक्ता मारमा पर्छन् । ‘कहिले यही तरकारीबाट मनग्ये आम्दानी हुन्छ, कहिले लगानी पनि उठ्दैन’, दीपक भन्छन्, ‘भण्डारण गर्ने ठाउँ नहुँदा घाटा खाएरै व्यापारीलाई दिनुपर्ने पनि हुन्छ ।’

भारतीय तरकारीको खुल्ला आयात र बिचौलियाको चलखेलले नेपाली किसान मर्कामा परिरहेको दीपक बताउँछन् । ब्यापारीले तरकारीको भाउ तोकेर सप्लायर्सले उठाउने गरेको उनले बताए । उनका अनुसार, जग्गामा उस्तै अप्ठयारो छ । ‘किसानको हातमा जमिन छैन, खेती गरिहेको जमिन खाली गर भन्नेवित्तिकै छाड्नुपर्ने अवस्था हुन्छ’, उनी भन्छन्, ‘नेपालका व्यावसायीक तरकारी किसानहरू यो समस्यामा छन् ।’

उनका अनुसार चाहिएको बेला बीउ, मल र प्राविधिक जनशक्ति पाएमा र बिचौलिया नरहेमा कृषि कामबाटै मनग्ये दाम कमाउन सकिन्छ ।