धरान । मेहेनत र श्रम गर्‍यो भने विदेशमा कमाउने पैसा स्वदेशमै कमाउन सकिन्छ । विदेशमा पैसा कमाइएला तर नाम कमाइँदैन । तर स्वदेशमा नाम र दाम दुवै कमाइन्छ ।

त्यस्तै‚ एउटा उदाहरण हुन् सुनसरीको धरान उपमहानगरपालिका–४ वसन्तटारका ३६ वर्षीय कृषक कृष्ण राई । उनले दाम मात्र कमाएका छैनन्‚ नमुना कृषकको रुपमा परिचित पनि छन् ।

विषादी प्रयोग नगरेको तरकारी पाउन मुस्किल पर्ने समयमा कृष्णको अगुवाइमा धरानको वसन्तटार सिंगै गाउँ जैविक तरकारी खेतीमा जुटेको छ । गाउँका १ सय ५० घरधुरीले जैविक तरकारी खेती गर्दै आएका छन् । जैविक खेती गरी तरकारी उब्जाउने गाउँको पहिचान बनाएको छ, वसन्तटारले ।

 

दुई दिदीपछिको तेस्रो सन्तान कृष्ण आफूले सानैदेखि कृषिप्रति चासो राख्ने गरेको बताउँछन् । धरानस्थित निकेतन माविमा कक्षा ८ मा पढ्दा नै कृषि कर्म गरेर किन आत्मनिर्भर हुन सकिँदैन ? भनेर आफूलाई चासो लाग्न थालेको उनको सम्झना छ ।

आमाबुबाले परम्परागत कृषिमा दुःख गरेको देख्दा कृष्णलाई कृषिको बारेमा चासो बढ्यो । बिहान ३ बजेदेखि साँझ ७ बजेसम्म घाम पानी केही नभनी कृषि कर्म गर्दा पनि किन कृषिमा आत्मनिर्भर हुन नसकिएको हो भन्ने कुराले उनलाई पिरोली रह्यो ।

वसन्तटारदेखि केही माथि पत्राङबारीमा अधियाँ खेती हुन्थ्यो । कृष्णका आमाबुबा त्यसमै व्यस्त हुन्थे । तर राम्रो प्रतिफल भने पाउन सकिरहेका थिएनन् । कहिलेकाँही त ५५ सय लगानी गर्दा ३५ सय मात्रै आम्दानी हुन्थ्यो । यसले उनलाई बेचैन बनायो ।

 

धरान पढ्न आउँदा बाटोको एग्रोभेटमा १० रुपैयाँको काक्रोको बिउ किने र काँक्रो खेतीबारेमा जानकारी लिए । यसरी १४ वर्षको उमेरमा कृषि कर्मको सुरुवात गरे । १० रुपैयाँको काक्रोको बिउलाई कसरी स्याहार सुसार गर्ने ? के कस्तो मल र औषधि लगाउने प्रयोग गर्ने भन्ने एग्रोभेटमा सिकाएअनुसार गरे । १८ बोट काक्रो फलुन्जेलमा जम्मा ५५ रुपैया खर्च भयो । आम्दानी ५ सय ५० रुपैयाँ । उनी कृषिमा लाग्न हौसिए । यो नै कृषिमा उनको पहिलो पाइला थियो ।

आधुनिक तरिकाले खेती गर्दा फाइदा हुने कुरा त्यही बेलादेखि आफूले थाहा पाएको उनी सम्झन्छन् ।

त्यसपछि पढाइसँगै एग्रोभेटमा कृषिका आधुनिक पद्धती तथा तरिकाहरुबारे सिक्दै गए । नयाँ नयाँ बाली लगाउन सुरु गरे । डयङ बनाएर खेती गर्न थाले । पहिलो पटक डयाङ बनाएर खेती गर्दा आमाबुबाले ड्याङ बनाउन दिएनन् । थोरै ठाउँमा खेती गर्न भनियो ।

तर, कृष्ण पछि हटेनन् । काँक्रापछि टमाटर, साग, सिमी खेती गर्न थाले । कृषिले औधी तान्यो । त्यतिखेर रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण हुने कृषि कार्यक्रम उनी नबिराई हेर्ने र सुन्ने गर्न थाले । कार्यक्रममा प्रसारण भएका कृषकहरुको सफलताको कथाले कृषि कर्ममा लाग्न आफूलाई थप प्रेरणा मिलेको उनी बताउँछन् ।

कृषिमा आधुनिकीकरण गरे राम्रो आम्दानी गर्न सकिने कुरा कृष्णले बुझ्दै गए । त्यसलाई व्यवहारमा उतार्न थाले । विस्तारै गाउँलेहरुले पनि उनलाई पछ्याउन थाले ।

रसायनिक मल र विषादी अत्याधिक प्रयोगले वसन्तटारमा कृषि उत्पादनमा कमी आउन थाल्यो । २०६२ सालमा सबै गाउँले मिलेर जैविक खेती गर्ने निर्णय गरे । कृष्णकै अगुवाइमा जैविक खेती सुरु भयो । विस्तारै माटोको उर्वराशक्ति बढ्न थाल्यो ।

अहिले माटो पूर्णरुपले स्वस्थ्य र उर्वर भएको छ । यतिबेला वसन्तटार गाउँ पुरै जैविक गाउँ बन्न सफल भएको छ । यसरी कृष्ण राईको कृषि कर्म अघि बढ्यो ।

बीचबीचमा कृष्णलाई पनि लाहुरे हुने मोहले छोयो । ब्रिटिस आर्मीमा भर्ती हुन दुई पटक पोखरा पुगे । तर, सफल हुन सकेनन् । इन्डियन आर्मीमा पनि सफल हुन सकेनन् । तर, कृषि कर्ममा भने उनी अब्बल सावित भए । नमूना कृषकका रुपमा चिनिए ।

२०६३ सालमा उनी मकाउ जाने तरखरमा थिए । तर, संयोगबस त्यहीबेला विवाह भयो । अब कृष्ण सबै प्रयास कृषिमा लगाउने अठोटमा पुगे । सबथोक छाडेर कृषिमा होमीए ।

 

अहिले उनको सोताङ अग्र्यानिक र्फम प्रा.लि. नामक कृषि फर्म छ । आफ्नो आम्दानीमा उनी सन्तुष्ट छन् । कृषि कर्म गरेर आफूले सन्तुष्टि पाएको उनको भनाई छ । ‘कृषिमै छ मजा’ कृष्ण भन्छन् ।

फर्ममा ४ जना कर्मचारी राखेका छन् । त्यस्तै दैनिक ज्यालादारीका थप १२/१४ जनालाई समय समयमा काममा लगाउने गरेको उनले बताए ।

उनको कृषि फर्ममा अहिले उन्नत जातका १६ वटा गाई, उन्नत जातका ७० वटा बंगुर छन् । उनले २५ कठ्ठामा तरकारी, १२ कठ्ठामा घाँस तथा ३ वटा कटेजमा च्याउ लगाएका छन् ।

आधुनिक प्रविधि अँगाल्दै उनले पानीमा मात्रै तरकारी खेती गर्ने विधि हाइड्रोफोनिक, माछा पोखरीको पानी र माछाको दिशाबाट तरकारी खेती गरिने इकोफोनिक, सानो जग्गामा पनि प्रशस्त तरकारी खेती लगाउन सकिने प्रविधि भर्टिकल फार्मिङ (पाईपमा ठाडो राखेर गरिने तरकारी खेती) किराको प्रकोपबाट बचाउने तिरिमिरी खेती लगाएका छन् ।

कृष्णले २ बिघा ६ कठ्ठामा जैविक खेती गरेका छन् । त्यस्तै दैनिक १७५ लिटर दूध, वार्षिक ३५० वटा उन्नत जातको बंगुरको पाठा बेच्छन् । आफूले वार्षिक ५० लाख आम्दानी गर्दै आएको बताउने उनी कृषिले आफूलाई सन्तुष्टि दिएको बताउँछन् ।

कृष्णले घर नजिकैको विद्यालयमा पढाए पनि । उनलाई चित्र कोर्न असाध्य मनपर्छ । फुर्सदको समयमा कृष्ण अहिले पनि चित्र कोर्छन् । ब्यानर र साइनबोर्ड पनि लेख्ने गर्दछन् ।

एकताका आर्ट सेन्टर खोल्न पनि कस्सिएका थिए । तर भाडा महंगो भएकाले उनको आर्ट सेन्टर स्थापना भएन । समय बित्दै गयो । कृष्णको कृषि कर्मले पनि सफलता पाउदै गयो ।

अहिले उनको घर वरपरको वातावरण नै कृषिमय छ । घरमा कृषिसम्बन्धी जानकारी लिन आउनेको भीड लाग्छ । समूहमा बुझ्न आउनेलाई २ हजार रुपैयाँ शुल्क लाग्छ । कृषिसम्बन्धी मजाले जानकारी दिन्छन् ।

उनी नयाँ प्रविधिको खोज अनुसन्धान गर्नुका साथै जैविक विषादी पनि बनाउने गर्दछन् । विषादीले किरा मार्नुको साटो ट्रयापको प्रयोग गरेर किरा मार्ने उनी बताउछन् ।

गर्दा के हुँदैन र मेहनत गर्न सके मज्जाले कमाउन सकिन्छ भन्ने उदाहरण हुन् कृषक कृष्णा राई । नेपालका बाँझो जग्गामा आधुनिक प्रणालीबाट खेती गर्नु गराउनुपर्ने उनको भनाइ छ । खेतीयोग्य जमिनमा प्लटिङ गर्ने कार्यमा रोक लगाउन सरकारलाई उनको आग्रह छ ।

श्रीमती र आमाबाट कृषिमा साथ पाउँदै आएको बताउने कृष्ण छोरोले पनि सानै उमेरमा यससम्बन्धी चासो लिन र सघाउन थालेकामा फुरुंग छन् ।