घाँस तथा दानापानी

01 Jul / 2016

डाले घाँस खनियोको(Ficus semicordata) विरुवा उत्पादन तथा उपयोगिता!!!

Write By: admin Published In: घाँस तथा दानापानी Hits: 16103

परिचय

खनियोको वैज्ञानिक नाम (Ficus semicordata हो । खनियोको दुई जातहरू छन्ः 

  • खर्सो खनियो (Ficus semicordata var semicordata)
  • राई खनियो (Ficus semicordata var montana) ।

    खनियो तराई देखि २००० मी को उचाई सम्म राम्रो भएको पाइन्छ । दुवै जातको खनियोको मध्यम किसिमको रुख हुन्छ ।

उपयोगिता
खनियो पशुहरूको लागि वहुउपयोगी डाले घाँस हो । यसको पात, वोक्रा र कलिलो डाँठ समेत गाई, भैंसी, भेडा, र बाख्राले मन पराएर खान्छन् । एक पटक रोपेपछि धेरै वर्षसम्म घाँस काट्न पाइने हुन्छ । यसको झिङ्गटा, दाउरा, वारवन्देजको लागि पनि उपयोगी छन् । भिरालो र अरु खेती नहुने खेर गइरहेको जमिनमा यसको खेती गर्न सकिन्छ । सुख्खा र मल नभएको रुखो जग्गावाट पनि राम्रो उत्पादन लिनुको साथै धेरै जरा हुने हुँदा भिरालो जमिनलाई भू–क्षय हुन वाट पनि रोक्ने गर्छ ।

वीउको संकलन
खनियोको वीउ आषाढ देखि आश्विन सम्म संकलन गर्न सकिन्छ । १ केजी वीउमा लगभग १५–३० लाख वीउ हुने गर्छ । प्रयोगशालामा वीउ परीक्षण गर्दा उमार क्षमता लगभग १४ % हुने गरेको पाइयो । तर नर्सरीमा स्याहार गर्न सकिएन भने धेरै जसो वेर्ना नर्सरीमा मर्ने गर्छ । १ केजीे वीउवाट लगभग १४००० देखि ४५००० वटा जति वेर्ना उत्पादन गर्न सकिन्छ ।

नर्सरीको तयारी
खनियोको वीउ अति सानो हुने हुनाले नर्सरीमा प्रयोग हुने माटो मसिनो खुकुलो र मलिलो हुनु पर्छ । नर्सरी ब्याडको लागि उपयुक्त जग्गा छनौट गरी आबश्यकतानुसारको लम्बाई र करीब १ मीटरको चौडाई तथा १० से मी गहिराई हुने गरी रेखाङ्कन गर्नु पर्दछ । ब्याडको चारैतिर ढुँगा या काठ आदी राखीसकेपछि ब्याडको तल्लो भागमा करीब ३ सेमी जती स साना गिट्टी, ढुँगा, ईंटका टुक्रा आदीले भरेर बिच भागमा जंगलको माथिल्लो सतहको नछानेको माटो २ भाग, बालुवा १ भाग र कम्पोष्ट वा गोठेमल १ भाग राम्रोसँग मिसाएर भर्नु पर्दछ ।

बीउ एकनासले छरिसकेपछि मसिनो माटोले बीउलाई हल्कासँग पुरीदिनुपर्दछ वा त्यसैगरी ब्याडमा १० सेमीको फरकमा लाइन बनाएर बीउ छर्न सकिन्छ तर लाइनको गहिराई बढी भएमा बीउ नउम्रन सक्छ । बीउ छरी सकेपछी सफा सुकेको घाँसपात, पराल, खर, गहुँको नल, सिरु आदीले राम्रोसँग छोपीदिनु पर्दछ र बीउ फुटेर सेतो धागो जस्तो रेशा देखिन थाले पछि छोपेको चिज हटाई दिनु पर्दछ । डालेघाँसका बिरुवाहरू ३—४ पाते भएपछि तयार गरिएको प्लास्टिकको थैलामा वेर्ना सार्नु पर्दछ । बिरुवा सार्नु भन्दा १ दिन अगाडी बेर्ना भएको ब्याड तथा बेर्ना सारीने थैलालाई राम्रोसँग भिजाउनु पर्दछ । ब्याड राम्रोसँग भिजेमा बि रुवाको जरा नचुँडाई उखेल्न सकिन्छ । बिरुवाको बिकास र बृद्धि, आकार प्रकारलाई बिरुवाहरूको बिचको दूरीले प्रत्यक्ष असर पार्ने गर्दछ । दूरी थोरै भएमा बिरुवा अग्लो, झिनो र खिरिलोे हुन्छ तथा जराको राम्रो बिकास हुन पाउँदैन । संभव भएमा दूरी बढाउने र जराको काँटछाँट एकैचोटी गर्नु राम्रो हुन्छ । जराको काँटछाँट गर्नाले बिरुवाको जरा र काण्डको बृद्धि कम भई बिरुवा मजबुत हुनुको साथै साखा जराको बिकास हुन्छ र मूल जरा धेरै लामो हुन पाउँदैन । नर्सरी ब्याड वा प्लास्टिक थैलामा रोपिएको माटोको चिस्यान ठिक मात्रामा कायम राख्न र माटो सुक्न नदिन मसिनो प्वाल भएको हजारी प्रयोग गरी हल्का सिंचाई गरीरहनु पर्दछ । 

लगाउने तरिका
खनियोलाई वारीको डिल कान्ला तथा वारको रुपमा पनि लगाउन सकिन्छ । वर्षा लागेपछि खनियोका वोट वा हाँगा नै मात्र भएपनि काटेर लगाउन सकिन्छ । डाले घाँसको लागि बारीका पाखाहरूमा लगाउँदा एक वोट देखि अर्कोवोटको दूरी २ देखि ३ मिटर राख्न सकिन्छ । वोटहरू राम्ररी नहुर्केसम्म प्रत्येक साल मल हाल्ने काम गर्नुपर्दछ।

घाँस काटने
राई खनियो तुलनात्मक रुपमा चाँडै वढ्ने गर्छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेमा गरिएको परीक्षणको नतिजा हेर्दा १८ महिनामा राई खनियो ३.४ मी अग्लो भयो भने खर्सु खनियो १.८ मी मात्र वढेको पाइएको छ । यो डालेघाँस वर्षमा २ पटक काट्ने गरिन्छ र कहिले काहिं वर्षमा ३ पटक सम्म पनि काटेको पाईन्छ । उत्तम घाँस काट्ने समय कात्तिक देखि फाल्गुन हो ।


घाँस उत्पादन
खनियोको वोटबाट धेरै दिन सम्म उत्पादन लिन सकिन्छ । डाले घाँस सरदर ५० देखि १०० किलो सुख्खा पदार्थ प्रतिवोट उत्पादन भएको पाइएको छ ।

 

घाँसको पोषिलोपना
खनियोको पातमा ३२–३५% सुख्खा पदार्थ, ११–१२% कच्चा पदार्थ, २.५५% क्याल्सियम, ०.९९% फस्फोरस र २.४८% ट्यानिन सुख्खा पदार्थको आधारमा पाईएको छ । पाकेको फल मानिसले पनि खाने चलन छ ।

 

Author: मनोज कुमार साह, बैज्ञानिक (एस १)

बङ्गुरको लागि सन्तुलित आहाराको व्यवस्था र महत्व!!
24 Jul / 2016

बङ्गुरको लागि सन्तुलित आहाराको व्यवस्था र महत्व!!

Write By: admin Published In: घाँस तथा दानापानी Hits: 21216

बङ्गुरपालन व्यवसायको सफलता नै आहारा व्यवस्थापनमा निर्भर गर्छ । बङ्गुरको उत्पादन लागतको करिब ७० प्रतिशतसम्म खर्च आहारामा हुने गर्छ । एउटा माउ पोथीले एक वर्षमा सरदर १२०० किलो दाना खान्छ । सोही तरिकाले एक पाठालाई जन्मे देखि ६–७ महिनाको उमेरमा बिक्री गर्ने बेलासम्म करिब ९० किलो तौल पुगुन्ज्याल सरदर २७० किलो दाना खान्छ । औसत रूपमा बङ्गुरमा खाएको आहारालाई मासुमा परिणत गर्ने क्षमता ३.२ हुन्छ । 

साना किसानका लागि प्लाष्टिकको थैलोमा साईलेज!!
24 Jun / 2016

साना किसानका लागि प्लाष्टिकको थैलोमा साईलेज!!

Write By: admin Published In: घाँस तथा दानापानी Hits: 33498

परिचय
हरियो घाँस नेपियर, मकैको ढोड, कोदोको हरियो नल, स्थानीय खर, टियोसेन्टे, सोरगम, वजरा, आदि घाँसहरूलाई शीत ओभाई सकेपछि काटेर छुट्टाछुट्टै वा मिसाई वढिमा एक अंगुलको वा ३ से मी टुक्रा को घाँसहरूलाई प्लाष्टिकको थैलोमा भरी सफा खुट्टाले थिचेर थैलाको हावा वाहिर निस्कने गरी खाँदिन्छ र थैलाको मुखलाई राम्रोसँग वन्द गरी घोप्टो पारी आर्को प्लाष्टिक थैलोमा राखी उक्त थैलो समेतबाट हावा बाहिर निकाली राम्रोसँग मुख वाधी वन्द गरी लामो समय सम्म प्लाष्टिक थैलोमा राख्नाले फाईदाजनक ब्याक्टेरियाको उपस्थिती हुन्छ जसले गर्दा अम्ल एसिड पैदा गराई घाँसलाई संरक्षित गर्दछ, यसलाई नै साइलेज भनिन्छ ।

फाईदा
>> हरियो घाँसको पौष्टिकतालाई नष्ट नगरी लामो समय सम्म संरक्षण गर्न सकिन्छ । साथै यसबाट हिउँदमा (घाँस कम हुने समयमा) गाई भैंसीलाई घाँसको ब्यवस्था गर्न सकिन्छ ।
>> वर्षा समयमा हे बनाउन गाह्रो हुने हुँदा हरियो घाँसलाई साईलेजको रुपमा संरक्षण गरेर राख्न सकिन्छ ।
>> कम ठाउँ तथा कम लगानीमा नै साईलेज बनाउन सकिन्छ ।
>> प्लाष्टिक थैलो साईलेज परम्परागत तरीकाले भण्डारण गर्ने भन्दा किफायत हुने र भण्डारण क्षतिलाई न्यून गर्ने गर्छ ।
>> सानो थैलोमा साईलेज बनाउनाले साईलेजको पौष्टिकतालाई नोक्सान नहुने गरी संरक्षण गर्छ जवकि ठूलो खाल्डोमा बनाउँदा हरेक दिन खाल्डोवाट साईलेज निकाल्दा पौष्टिकतामा नोक्सान हुने गर्दछ ।
>> हे बनाउन नसकिने घाँस तथा झारहरूलाई साईलेज बनाउन सकिन्छ । 

बेफाईदा
>> थैलोलाई चरा र मुसाहरूले क्षति पु¥याउन सक्ने हँुदा साईलेज नोक्सान हुन सक्ने ।
साईलेजको लागि उपयुक्त घाँसहरू पशुले खाने जुनसुकै घाँसबाट साइलेज बनाउन सकिन्छ तर घाँस पानीले भिजेको वा ज्यादै सुकेको हुनुहुन्न । खर घाँस, मकैको हरियो ढोड, जुनेलो, नेपियर, पारा र सुडान साईलेज बनाउन उपयुक्त घाँस नेपियर घाँसवाट उच्च स्तरको साइलेज बनाउन सकिन्छ । यस बाहेक सिमी, बोडी, भटमासको झाङ्गलाई पनि साइलेज बनाउन सकिन्छ ।


साईलेज बनाउने उपयुक्त समय
साईलेज बनाएको तीन महिनामा खुवाउन तयार हुन्छ । प्लाष्टिकको थैलोमा साईलेज जुनसुकै समयमा तयार गर्न सकिएता पनि प्रायः गरी श्रावण देखि भाद्र महिनामा घाँसहरूको उत्पादन हुने हुँदा साईलेज वनाउन उपयुक्त हुन्छ । चिसो ठाउँमा अलि बढी समय लाग्न सक्छ । घाँसको चिस्यान ६०–६५ प्रतिशत भएको समयमा साईलेज बनाउन उपयुक्त हुन्छ ।

साईलेज बनाउने तरीका
साईलेज बनाउने थैलो कृषकसँग भएको पशु संख्या र घाँसपातको उपलब्धताका आधारमा ५ देखि ५० केजीको घाँस अटाउने थैलो छनोट गर्नु र्पछ । हरियो घाँस, नेपियर, मकैको ढोड, कोदोको हरियो नल, स्थानीय खर, टियोसेन्टे, सोरगम, वजरा, आदि घाँसहरूलाई शीत ओभाई सकेपछि काटेर छुट्टाछुट्टै वा मिसाई वढिमा एक अँगुलको वा ३ सेमी टुक्राको घाँसहरूलाई प्लाष्टिकको थैलोमा भरी सफा खुट्टाले थिचेर थैलाको हावा बाहिर निस्किने गरी खाँदी थैलाको मुखलाई राम्रोसँग वन्द गर्नुपर्छ। घाँस काटेको २४ घण्टा भित्र थैलोमा भरी सक्नुपर्छ । एवम् प्रकारले काटेको घाँसलाई राम्रोसँग खाँदेर सकेसम्म एक घण्टा देखि दुई घण्टा समयमा थैलो भर्ने काम पूरा गर्नु पर्दछ । यसरी वनाएको साईलेज २ महिना पछि खुवाउनको लागि तयार हुन्छ । कार्तिक देखि चैत्र महिना सम्म हरियो घाँसको अभाव हुने हुनाले दूधालु पशुहरूलाई साईलेज खुवाएर हरियो घाँसको आपूर्ति पूरा गर्न सकिन्छ । ५५० केजी शारीरिक तौल भएको गाई वा भंैसीलाई दैनिक २५ केजी साईलेज दिनुपर्छ भने भेडा, वाख्रालाई बढीमा ५ केजी सम्म साईलेज दिन सकिन्छ ।


राम्रो साईलेजमा हुनुपर्ने गुणहरू
राम्रो खालको साईलेज समाउँदा नरम, रसिलो, अमिलो बास्ना आउने र गाढा खैरो रगंको हुनुपर्दछ । समाउँदा ल्याच्च आउने र गन्ध आउने हुनुहुँदैन । राम्रो साईलेजको निम्न गुणहरू हुनु पर्छ जस्तै पि एच ३.५ देखि ४.३, एसिटिक एसिड २ % भन्दा कम, ब्यूटारिक एसिड ०.१ % भन्दा कम, ल्याक्टिक एसिड ४ –६ %, एमोनियम नाइट्रेड ५ % भन्दा कम ।


साईलेज भण्डारण
साईलेज भएको थैलोलाई राम्रो स्थानमा भण्डारण गर्नु पर्ने हुन्छ । थैलोलाई दानाको भण्डार भन्दा टाढा राख्नु पर्छ जसले गर्दा चरा र मुसाहरूवाट सजिलै जोगाउन सकिन्छ । साईलेज भण्डारणको लागि स्थानीय श्रोत साधनको प्रयोग गरी काठ, वाँस, जाली र किलाकाँटीवाट मुसा छिर्न नसक्ने गरी कम लागतमा साईलेज भण्डारण निमार्ण गर्न सकिन्छ । साईलेज वनाएको थैलोलाई पातलो पोलिथिन सिटले छोपी राख्दा लामो समय सम्म जोगाउन सकिन्छ ।

मनोज कुमार साह, बैज्ञानिक (एस १)

 

व्यवसायिक घाँस खेति बारे तपाईंलाइ चाहिने सबै जानकारी अब स्मार्ट कृषि एपमा उपलब्ध छ!! आजै डाउनलोड गरेर हेर्नुहोला।।

डाउनलोड लिंक: http://bit.ly/1EjQkTu