.
बजार पाएपछी सिलटिमुरमा लोभिँदै किसान !!

बजार पाएपछी सिलटिमुरमा लोभिँदै किसान !!

Created Date: 2017-09-10 Hits: 9956

‘सिलटिमुर खानु’ भन्ने कहावतलाई नेपाली समाजमा मृत्युसँग जोडेर लिइन्छ । तर, यही सिलटिमुरको स्वादमा पल्केका पनौती–८, देउरालीका महेश बन्जारा(३३) ले यसको निर्यात गरेर समृद्धिको फड्को मार्दैछन् । ‘विगतमा सिलटिमुरको फल खानु हुन्न भन्ने धारणा व्याप्त थियो । फल त्यसै झर्न दिन्थे । स्याउलामात्रै बस्तुभाउलाई खुवाउँथे’, उनले भने, ‘एक जना बृद्ध मेरो प्रशोधन केन्द्रमा पहिलो पटक आएर सिलटिमुर छुँदा मरियो भने तिमीले जिम्मा लिनुपर्छ भन्नु भयो । म जिम्मा लिन्छु भनेपछि संकलनमा हिँड्नु भएका उहाँले एकै पटक ८० किलो लिएर आउनु भयो र ८ हजार रुपैंया बुझ्नु भयो ।

यतिखेर आफूमात्रै नभई सिलटिमुर फलाइरहेका किसानलाई समेत घरआँगनमै पैसा दिइरहेको छु’, बन्जाराले भने । अन्तर्राष्ट्रिय बजारमा राम्ररी सुकेको सिलटिमुर दानाको राम्रो माग रहेको जानकारीपछि अघिल्लो वर्षदेखि बन्जाराले यसलाई संकलन गर्ने काममा तीब्रतामात्रै दिएनन्, प्रशोधन गरि सुकाउनका लागि सोलार र इलेक्ट्रिक ड्रायरसमेत जडान गरे ।

‘अघिल्लो वर्ष राम्ररी सुकाएको ३ सय केजी सिलटिमुरलाई अल्टरनेटिभ हर्बल प्रडक्ट कम्पनीमार्फत जर्मनी पठाएको थिएँ । राम्रो गुणस्तर रहेको भन्दै उताबाट माग आउन थालेपछि यस पटक बढी संकलन गरिरहेको छु’, बन्जाराले भने ।

काठमाडौं भेडासिंहमा १५ वर्षदेखि जडिबुटीको पसल सञ्चालन गर्दै आएका बन्जाराले गैरकाष्ठ वन पैदावार र औषधीय गुणयुक्त वनस्पतिको स्वःअध्ययन गरेका हुन् । ‘यही क्रममा नेपालमा पाइने तर खेर गइरहेको सिलटिमुरको बारेमा थाहा पाएँ । यसको प्रयोगले रोगहरु निको हुने र मसलाको रुपमा समेत प्रयोग हुने जानकारी पाएलगत्तै एक वर्षसम्म विभिन्न ठाउँहरुमा खोज्दै हिँडे । तर, अचम्म पनौती नगरपालिकाकै वरिपरि व्यापक रुपमा सिलटिमुर पाइँदो रहेछ’, बन्जाराले थपे ।

कुशादेवी, रयाले, भूमेडाँडा, खरिबोट, टौखालका निजी आवादी क्षेत्रमै सिलटिमुरका रुखहरु रहेको उनले फेला पारे । यीनै रुखबाट संकलन भएका फललाई बन्जाराले किन्दै आएका छन् । किसानसँग हरियो सिलटिमुर प्रति किलो एक सय रुपैंयामा किन्ने गरेका छन् । पात र डाँठैसहित किनिएको सिलटिमुरको फलमात्रै अलग गर्दै यसलाई ड्रायरमा सुकाउने गरेका छन् ।


‘सिलटिमुर टिप्ने समय असार, साउन र भदौ भएको हुँदा यो समय घाम ज्यादा नहुने भएकाले इलेक्ट्रिक ड्रायरमा सुकाउने गरेको छु । घाम लागेको बेलामा भने सोलार ड्रायरमा सुकाइन्छ’, उनले भने ।

दुबै ड्रायरका लागि उनले ८ लाख रुपैंया लगानी गरेका छन् । दुबै ड्रायरको प्रयोगबाट एक पटकमा ३ सय केजी फललाई सुकाउने गरेका छन् । इलेक्ट्रिकमा एक पटकमा ८० केजी फल सुक्ने क्षमता रहेको छ भने यसका लागि ६ घण्टा लाग्ने गरेको छ ।

यस तरिकाले राम्ररी सुकेको सिलटिमुर दानामात्रै निर्यात हुने गरेको उनको भनाई छ, ‘ल्याब परीक्षणबाट तोकिएको जलांशको मात्रा यकीन भएपछिमात्रै निर्यात हुने गरेको छ । दानाबाट उनीहरुले तेल निकालेर बाँकी छोक्रालाई मसलाको रुपमा प्रयोग गर्दै आएका छन्’, बन्जाराले भने ।

सिलटिमुरको औषधीय महत्वबारेमा बन्जारा थप्छन्, ‘ग्यास्ट्रिकमा यो सबैभन्दा राम्रो औषधि हो । शरीरको बोसो घटाउन पनि प्रयोग हुने गरेको छ । यसबाट मसाज गर्ने तेल बन्छ । खानामा मसलाको रुपमा उपयोग हुने गरेको छ ।’

एक केजी गुणस्तरिय सिलटिमुरको दाना तयार गर्न ४ केजी हरियो फल लाग्ने गरेको छ । डाँठ र पात केलाएर त्यसमा रहेको पानी सुकाउने क्रममा ७५ प्रतिशतसम्म तौल घट्ने बन्जाराको भनाई छ, ‘यस पटक ८ हजार केजी काँचो(हरियो) फल आउने अनुमान छ । किसानको हातमा ८ लाख रुपैंया समेत जाँदैछ । राम्ररी सुकाउँदा २ हजार केजीसम्म राम्रो दाना तयार हुन्छ,’ उनले थपे । पनौती आसपास र महाभारतक्षेत्रको जंगलबाट ३० हजार किलोसम्म सिलटिमुर संकलन गर्न सकिने अनुमान गरेका छन् ।


गाउँमै संकलन केन्द्र खुलेको र सिलटिमुरको महत्वसमेत बुझ्न थालेकाले स्थानीय किसानहरुले पुराना र बुढा रुख काटेर दाउरा बनाउने क्रमलाई छाडेका बन्जाराको भनाई छ ।
‘फलबाटै राम्रो कमाई हुने भएपछि अब बुढा रुखलाई समेत स्याहार सुसार गर्न थालेका छन् । नयाँ बिरुवाको खेती गर्न सिकेका छन् । आफैं उपयोग गर्न जानेका छन् । बिक्री गर्न टाढा जानु परेको छैन । यसैले पनि गाउँलेलाई सिलटिमुरको आकर्षणले लोभ्याएको हो’, उनले थपे ।


सिलटिमुर सुकाउने असारदेखि भदौसम्मको तीन महिनाभर बन्जारा र उनका परिवार मध्यरातसम्म ब्यस्त हुने गरेका छन् । सिलटिमुरको सिजनबाहेक अन्य समयमा अलैंची, हलेदो, नीमको पात, बोझो, कुरिलो र गोरखमुण्डीलाई आवश्यकता अनुसार दुईवटै ड्रायरमा पालैपालोे सुकाउने गरेका छन् । यस काममा पत्नी देबकीले समेत सघाउँदै आएकी छिन् ।


आफंैले पनि निजी जग्गामा ३ सय बोट सिलटिमुर रोपेका छन् । यस्तै, गोरखमुण्डी, रोजमेरी, तुलसी, जिम्बु, अलैंची लगाएका छन् । सुगर र ब्लड प्रेसरमा काम गर्ने औषधीका रुपमा कालो जीराको परीक्षण उत्पादन गर्दै रहेका छन् ।

जडिबुटी व्यवसायसँगै सिलटिमुरले उत्तिस प्रजातिलाई विस्थापन गराउने योजना बन्जारा लागि परेका छन् । ‘सिलटिमुर पाकेर खसेको ठाउँमा आफैं उम्रने गरेको छ । जंगली तरिकाले पुनर्उत्पादन हुँदा गुणस्तरिय बिरुवा हुँदैन । यसका लागि नर्सरी नै चाहिन्छ । नर्सरीमै गुणस्तरिय बिरुवा उत्पादन गर्दै खेती बिस्तार गर्न सकिन्छ’, उनले थपे । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका अनुसार १५ 

सय देखि २७ सय मीटरसम्मको उचाईमा सिलटिमुर खेती हुने गरेको छ र विरुवा रोपेको ३ देखि ४ वर्षमा फल दिने हुन्छ ।
‘बहुवर्षिय र बहुपयोगी भएकाले सिलटिमुरको खेतीमा यसक्षेत्रका किसानहरुलाई सहभागी बनाउनका लागि एउटा नर्सरी नबनाई भएको छैन । त्यसका लागि सरकारी या गैरसरकारी क्षेत्रबाट सहयोग पाएमा तत्कालै नर्सरी स्थापना गरेर बिरुवा निकाल्न सक्थेँ । यो सिजन गयो भने अर्को वर्षसम्म कुर्नु पर्ने हुन्छ’, बन्जाराले आग्रह गरे ।

संघका अध्यक्ष गोविन्द घिमिरे पनि सिलटिमुरको व्यावसायिक खेती गर्नमा किसानलाई प्रेरित गर्न सकेमा गाउँमा उद्यमशीलता विकास हुनेमा ढुक्क छन् ।
‘सिलटिमुर उत्तिसको दाँजोमा छिटो बढ्ने रुख हो । उत्तिसलाई काटेपछिमात्रै पैसा आउँछ । तर, सिलटिमुरको फलबाटै पैसा आउने भएपछि किसानले सितिमिति रुख काट्दैनन् । यसबाट आम्दानीसँगै हरियाली पनि कायम रहने भयो’, घिमिरेले भने ।

गाइबस्तुलाई स्याउला खुवाउँदा यसमा भएको औषधीय गुणले नाम्लेजुकाको संक्रमणमा कमी आएको किसानहरुको भनाई रहेको घिमिरेले जानकारी दिए ।
‘स्याउलामात्रै प्रयोग हुन्थ्यो । बजार थाहा नहुँदा सिलटिमुरका दाना त्यसै फ्याँकिन्थ्यो । अब बाह्य र आन्तरिक बजारमासमेत यसको खपत बढ्न थालेको छ’, उनले थपे ।

हाल सिलटिमुरका दानालाई घिमिरेकै कम्पनी अल्टरनेटिभ हर्बल प्रडक्टले जर्मनीमा निर्यात गरिरहेको छ । ‘ल्याब परीक्षणबाट ४ दशमलव ७ प्रतिशत सुगन्धित तेल आएको देखाएको छ । यो हिसाबले १ हजार केजी सिलटिमुरबाट करीब ५ केजी तेल आउने भयो । तेलको माग धेरै भयो भने सिलटिमुरको व्यापक खेती गर्नै पर्छ’, घिमिरेले सुझाए ।


संघले दिएको जानकारी अनुसार विभिन्न खाले जडिबुटीको व्यवसायले नेपालका करीब ८० प्रतिशत मानिसको जीवीकोपार्जनमा प्रत्यक्ष सरोकार राख्छ भने १ सय ६१ प्रजातिका गैरकाष्ठ बन पैदावार र जडिबुटीहरुको संकलन र व्यापार हुने गरेको छ ।

सिलटिमुर
बढी मात्रामा नेपालको मध्य र पूर्वी नेपालको १५ सयदेखि २७ सय मीटरसम्मको उचाइमा पाइन्छ । यो ४० फीटसम्म अग्लो हुने रुख वर्गको पतझड बनस्पति हो । यसको फल सुरुमा गाढा हरियो, पाकेपछि रातो र राम्ररी सुकेपछि कालो रंगको मरिचजस्तो चाउरी परेको सानो केराउजत्रो र धेरै बास्नादार (कागतीको जस्तो) हुन्छ ।


यसमा औषधीय गुण पनि रहेको हुन्छ । पेट दुख्दा र ग्याष्ट्रिकममा यसको प्रयोग हुन्छ । विदेशमा यसको प्रयोग मसलाको रुपमा हुन्छ । हाम्रै गाउँघरतिर च्याउ पकाउँदा सिलटिमुरको प्रयोग हुने गरेको पाइन्छ ।

 

थप जानकारीको लागि सम्पर्क:: MAHESH BANJARA,
PANAUTI, LAMADOL BHANJYANG, SUN RISE VIEW POINT, 
CELL: 98511-43509

 

Report: Madhusudan Guragain/Nagarik

Tags:

Same In Category

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार!!

Posted By admin

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Posted By admin

कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन, एउटा प्रेरणादायी अन्तरबार्ता!

Posted By admin

मकैबारीभित्रै जडीबुटी, गाउँले तीन छक्क!!

Posted By admin

‘विदेशी स्वर्ग’ छाडेका इन्द्र भन्छन् , ‘मकैको आँटो र कर्कलाको गाँठो स्वदेशकै मिठो’!!

Posted By admin

‘बिदेसिए भर छैन, गाई पाले दिनहुँ आम्दानी’

Posted By admin

‘आधुनिक कृषिकालागि डेढ करोडका कृषि औजार’!!

Posted By admin

६० करोडको लागतमा अत्याधुनिक लेयर्स फार्म!!

Posted By admin

५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ??

Posted By admin

३ दिने व्यवसायिक तरकारी खेती तालिमको सुचना!! (श्रावण २५, २६ र २७ गते)

Posted By admin

Related Blogs By Tags

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार!!

Posted By admin

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय!!!

Posted By admin

आँपको पात प्रयोग गर्नुस्, रोग भगाउनुस्!!

Posted By admin

व्यवसायिक कृषिको लागि मल्चीङ्ग प्रबिधि र यसका फाइदाहरु!!

Posted By admin

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Posted By admin

सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती हो बेल!!

Posted By admin

चामलहरुको राजा ब्ल्याक राइस G-60 !! अर्डर गर्न:: 9843807002

Posted By admin

लौकाले शरीरमा हुने कस्ता समस्यामा फाइदा गर्छ?

Posted By admin

कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन, एउटा प्रेरणादायी अन्तरबार्ता!

Posted By admin

बहुमुल्य/बहुउपयोगी वनस्पति पाउलोनियाको बारेमा बिस्तृत जानकारी!!

Posted By admin